बागमती प्रदेशसभाः समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण


मकवानपुर, २८ साउन । बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा सादस्यहरूले बर्सातको मौसम सुरु भएकाले विपद् व्यवस्थापनलाई चुस्त बनाई तत्काल उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्न प्रदेश सरकारलाई आह्वान गरे ।

काठमाडौँका विभिन्न स्थान र छिमेकी नगरपालिकाका विभिन्न वडामा स्वच्छ पिउने पानीको अभाव भएकाले ती क्षेत्रमा प्रदेश सरकारले वैकल्पिक उपायको अवलम्बन गरी दीर्घकालीन खानेपानीको व्यवस्था गराउन माग गरिएको छ । साथै भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले शीघ्र प्राविधिक सर्भे गरी त्यसबाट आएको प्रतिवेदनलाई आधार मानी बजेट उपलब्ध गराउन माग गरे ।

उनीहरूले बागमती प्रदेशका विभिन्न जिल्लासहित गरी करिब २३ लाख सर्वसाधारण नागरिकलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने क्रममा अनुमतिपत्र छाप्न विदेशी कम्पनीलाई सरकारले सम्झौता गरी अनुमति दिएकामा आपत्ति प्रकट गरे । सो कम्पनीलाई दिइएको सम्झौता खारेज गरी नेपाली कम्पनीलाई लाइसेन्स छाप्ने सम्झौता गरी सर्वसाधारणलाई अनुमतिपत्र उपलब्ध गराउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारलाई आग्रह गर्नुपर्ने सांसदहरूले माग गरे ।

प्रदेशका संवेदनशील जिल्लाहरू तथा चितवन, रसुवा, काभ्रे, धादिङ र दोलखालगायत निकुञ्जले समेटिएका बस्तीमा वन्यजन्तु प्रवेश गरी आक्रमण गर्ने तथा मानव क्षति गर्ने उनीहरूले उल्लेख गरे । त्यस्तो क्षति न्यूनीकरण गर्दै मानव बस्तीलाई संरक्षण गर्न र निकुञ्ज वरिपरिबाट आउने वन्यजन्तुलाई रोक्न तारबार र सिमेन्ट ब्लक लगाउन प्रदेश सरकारले निकुञ्जसँग समन्वय गर्नुपर्ने उनीहरूले सुझाव दिए ।

काठमाडौँलगायत विभिन्न जिल्लामा खानेपानीको अभावलाई नियमित आपूर्ति गर्न प्रदेश सरकारले सम्बन्धित निकायमार्फत बजेट उपलब्ध गराउँदै पानीको आपूर्ति गर्नुपर्ने उनीहरूको माग छ । साथै दुर्गम क्षेत्रका सर्वसाधारणलाई खानेपानी र स्वास्थ्य उपचार सेवा उलपब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिए ।

प्रदेशका विभिन्न जिल्लामा कृषिको उत्पादनलाई प्रोत्साहन गर्न समयमा मलखाद, बीउ उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिए । प्रदेश सरकारले चालु आवदेखि सङ्घीय सरकारसँग सहकार्य गरेर प्रदेशको राजधानीमा मलखादको भण्डारण गर्ने गुरुयोजना तर्जुमा गर्न उनीहरूले सल्लाह दिए ।

छलफलमा सहभागी हुँदै सदस्यहरू एकलाल श्रेष्ठ, उद्धव थापा, कञ्चनचन्द्र बादे, प्रभात तामाङ, रामप्रसाद ढुङ्गाना, शान्ता ढकाल, तारानारायण श्रेष्ठ, मीना सिलवाल, माया देवी शर्मा, अमृता नेपाल, आनन्दकुमार श्रेष्ठ, ठाकुरप्रसाद ढकाल, हरिप्रसाद सापकोटा, इन्द्र चौलागाईँ, रमेश कुमार महत, बसन्त मानन्धर, ठूला थामी र ईश्वर सापकोटा थिए ।

यसैगरी सदस्यहरू कृष्णप्रसाद सिलवाल, यमुनादेवी श्रेष्ठ, सकुन्तला श्रेष्ठ, रुकु चौलागाईँ, इन्द्रप्रसाद गोतामे, रत्नप्रसाद ढकालले विशेष समयमा सरकारलाई जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्न सल्लाह दिए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक सूचना नभएसम्म नबस्ने जनाउँदै आजको बैठक स्थगित गरे । रासस