उपसभामुख राना अमेरिकामा सम्मानित


काठमाडौं, ५ भदौ । उपसभामुख इन्दिरा राना अमेरिकामा सम्मानित भएकी छन् । अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको सेवामा योगदान गरेको भन्दै बिहीबार आयोजित  समारोहमा सम्मानित गरेको हो ।

काउन्सिल एडलार्ज एरिन मर्फीले उनलाई सम्मान गरेका  थिए । सामाजिक न्याय र असहाय बालबालिकाको हितमा सेवामा समर्पित सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको बोस्टन सिटी काउन्सिलले जनाएको छ ।

उनले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर प्रदान गरेकी छन् ।

कार्यक्रममा उपसभामुख रानाले समाज सेवामा आफूले विताएको समय, नेपालले महिला र बालबालिका क्षेत्रमा गरेको प्रगति, समानुपातिक समावेशिताबारे धारणा राखेकी थिइन् ।

बोस्टन सिटी काउन्सिलले आयोजना गरेको नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर विषयक उच्चस्तरीय सम्वाद कार्यक्रममा सहभागी हुन उपसभामुख राना अमेरिका भ्रमणमा छिन् ।