सङ्खुवासभालाई उर्जाको राजधानी बनाउनुपर्छः मन्त्री खड्का


काठमाडौं, ६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचानमात्र नभई ‘ऊर्जाको राजधानी’ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । आज खाँदबारी नगरपालिकाले आयोजना गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा उनले अपर अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको प्रत्यक्ष सहभागितामा अघि बढाइने योजना रहेको बताए ।

मन्त्री खड्काका अनुसार जिल्लाका करिब ४० हजार घरपरिवारलाई प्रतिघर पाँच लाखका दरले सेयर उपलब्ध गराइने जानकारी दिए । आयोजना निर्माण ५० प्रतिशत पुगेपछि शेयर निष्कासन सुरु गर्ने तयारी गरिएको उनले बताए ।

‘यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन, यसले यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउन ठूलो योगदान गर्नेछ,’ उनले भने ।

विपन्न वर्गलाई समेत सहभागी गराउने उद्देश्यसहित करिब १२ देखि १५ प्रतिशत नागरिकलाई बैंकमार्फत निःशुल्क ऋण उपलब्ध गराइने उनले बताए ।

अपर अरुण नेपालकै महत्वाकाङ्क्षी जलविद्युत् आयोजनामध्ये एक हो । यसले उत्पादन गर्ने विद्युत्मात्र होइन, आयोजनामा स्थानीयको प्रत्यक्ष सहभागिताले पनि प्रदेश र देशको अर्थतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ ।