काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको विषयलाई अगाडि बढाउन नसक्दा प्रश्न चिन्ह खडा भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार बन्दा भएको सात बुँदे सहमतिमध्ये प्रमुख संविधान संशोधन अगाडि बढ्न नसकेको बताएका हुन् । ‘अरु त ठीक छ । संविधान संशोधनको विषय चाहिँ अगाडि बढेको छैन । हाम्रो पार्टीको केन्द्रीय समितिले पास पनि गर्यो । त्यो अगाडि बढ्नुपर्थ्यो । त्यसमा चाहिँ सबैको प्रश्न चिन्ह छ,’– उनले भने ।
साथै, उनले अहिले आर्थिक गतिविधिलाई चलायमान बनाउन आवश्यक रहेको बताए । सरकारले ल्याएको ५ वटा अध्यादेशले सिथिल भएको अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । साथै, अहिले धेरै विधेयकहरु पनि पास भइराखेको उनले बताए ।
साथै, उनले कांग्रेसले पार्टीमा अनुशासन कायम गर्न नसकेको बताए । कांग्रेसले जसलाई जे गर्न पनि छुट दिएको उनको भनाइ छ । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न दिएको सुझावमा उनले संसदीय दलको नेता फेरेर देखाउन चुनौती दिए । उनले देउवालाई हराएर संसदीय दलको नेता बन्न गगन–विश्वप्रकाशलाई चुनौती दिए ।
‘उहाँ लडे भइगयो नि त । संसदीय दलमा म नेता हुन्छु भनेर लडे भइगयो नि त । कसले रोकेको छ र ? त्यतिकै बाहिर भनेर हुन्छ ? बाहिर कराएर हुन्छ ? एउटा संरचना, संगठनमा बसेपछि पार्टीको सिस्टम छ नि । पार्टीमा त सर्वसम्मत निर्णय भएको छ । पार्टीले अब फेर्ने भनेर प्रस्ताव राखेर पास किन नगरेको त ? त्यहाँ गर्नुपर्यो नि । यही भएर त जनता कन्फ्युजनमा परेका छन्,’– उनले भने ।




प्रतिक्रिया