काठमाडौं, १४ भदौ । चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली जापानविरुद्धको विजयी परेडमा सहभागी हुन चाइना गएकोमा आफूलाई चित्त नबुझेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जापान नेपालप्रति सद्भाव राख्ने मुलुक रहेकाले उक्त देशविरुद्धको कार्यक्रममा जानु उपयुक्त नरहेको बताएका हुन् ।
‘जापान हाम्रो ठूलो सहयोगी । नेपालको विकासको निमित्त सुरुदेखि नै, इतिहासमा गएर खोज्ने हो भने त चीनसँग पनि हाम्रो युद्ध भएको छ । भारतसँग पनि हाम्रा गतिपय गुनासाहरु छन् । जापान हाम्रो सुरुदेखिको सद्भाव राख्ने मुलुक भएको हुनाले र हाम्रो विकास र प्रगतिमा खुला हृद्धयले सहयोग गर्ने मुलुक । त्यसमा हामी सहभागी हुन हुँदैन थियो । सैनिक परेडमा भाग लिनु मलाई चाहिँ चित्त बुझेको छैन,’– उनले भने ।
साथै, उनले मित्र राष्ट्र भारत र चीनले नेपाललाई बेवास्ता गरेर व्यापारिक प्रयोजनको निमित्त लिपुलेकबाट बाटो खोल्ने सहमति गरेको भन्दै उनले आपत्ति जनाए । यस विषयमा मित्र राष्ट्र भारत र चीनसँग समन्वय गर्न पनि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।
पूर्व राजदूत आचार्यले आफू राजदूत भएर गएकै केलामा सन् २००१ मा आफूले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) मा सामेल हुन सुझाव दिएको बताए । उनले नेपाल उक्त संगठनको सदस्य राष्ट्र हुँदा फाइदा पुग्ने दाबी गरे ।
‘शाङ्घाई सहयोग संगठन मा नेपाल सामेल हुनुपर्छ । मैले त्यतिखेर नै शाङ्घाई सहयोग संगठनमा हाम्रो सहभागिता हुनुपर्यो । अर्को त्यतिबेला बिमस्टेक भर्खर–भर्खर खुलेको थियो । शाङ्घाई सहयोग संगठनमा दुई वटा संयुक्त राष्ट्रसंघमा भिटो पावर भएका मुलुक छन् । त्यस्तो मुलुकसँग वार्षिक रुपमा मिटिङ हुँदाखेरी त्यसले नेपाललाई फाइदा गर्छ भन्दाखेरी अहिले हाम्रो भूमिका पर्यवेक्षकको मात्रै छ,’– उनले भने ।
भारत र चीन आ–आफ्नै सभ्यता भएको मुलुकले नेपालजस्तो शान्तिप्रिय मुलुकको नेपालको भूमिमा अनाधिकृत रुपमा प्रयोग गर्न नहुने उनको भनाइ छ । उनले भारत र चीनले नेपालले लगाएको गुण बिर्सन नमिल्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका दुवै नेताहरुसँग आफूहरुलाई नसोधी लिपुलेकको मार्ग प्रयोग गर्नेगरी भएको सम्झौताबारे कुरा गर्नुपर्ने उनले बताए । ‘नेपाललाई बेवास्ता गरियो । हाम्रो चित्त दुखेको छ । यो कुरा हाम्रो प्रधानमन्त्रीले दुवै नेतासँग राख्न सक्नुपर्यो,’– उनले भने ।
पूर्व राजदूत आचार्यले भारतले अहिले जलमा छल गरिरहेको आरोप लगाए । भारतले कालीको सानो मन्दिर बनाएर महाकालीको सिमाना नै परिवर्तन गरेको उनको दाबी छ । ‘अहिले जलमा छल भइराखेको छ । लिम्पियाधुराबाट आउने ठूला नदी ब्रिटिसकालदेखि बनाएको नक्साहरुमा छ–काली । अहिले कालीको मन्दिर बनाएर सानो खोलालाई मन्दिरको नाम काली भनेर राखेको छ,’– उनले भने ।
भारत र चीनले नोपलको अस्मिता र नेपालको भू–भागलाई खण्डित गर्ने कोशिस गरेको उनले बताए । यसमा नेपालले आपत्ति जनाउनुपर्ने र दुईवटै मित्रराष्ट्रहरुसँग बहस गर्न, छलफल गर्न र प्रमाणको आधारबाट अगाडि बढ्नलाई तयार हुनुपर्ने उनले बताए । त्यसको निमित्त प्रधानमन्त्री ओलीले खुट्टा नकमाइकन आफ्ना विषयवस्तुहरु सालिनताको साथ राख्नुपर्ने उनको सुझाव छ । यस्तो अवस्थामा सिंगो देश प्रधानमन्त्री ओलीको पक्षमा उभिने पनि उनले बताए ।




प्रतिक्रिया