काठमाडौं, १५ भदौ । पूर्व राजदूत एवं कूटनीतिज्ञ विजयकान्त कर्णले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग कुरा गरेर नेपालले फिर्ता ल्याउनका लागि सबैभन्दा पहिला संविधान संशोधन गरेर चुच्चे नक्सा निकाल्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानबाट चुच्चे नक्सा बाहिर निकालेपछि मात्रै भारतसँग नेगोसेशन हुन सक्ने बताएका हुन् । संविधाबाट चुच्चे नक्सा बाहिर ननिकालेसम्म भारतसँग नेगोसेशन हुनसक्ने सम्भावना नै नरहेको उनको भनाइ छ ।
‘अब लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग कुरा गरेर नेपालले फिर्ता ल्याउन सक्छ ? तपाईँ त्यो सम्भावना देख्नुहुन्छ आजको दिनमा ?’ भन्ने प्रश्नमा उनले भने, ‘आजको दिनमा त्यसको लागि सबैभन्दा पहिले नेपालको संविधान संशोधन गर्ने, त्यो नक्सालाई संविधानबाट बाहिर निकालेपछि अनि भारतसँग नेगोसेशन हुन्छ । त्यो भन्दा पहिला नेगोसेशन हुने सम्भावना छैन ।’
साथै, फरक प्रसंगमा उनले जापानविरुद्धको सैन्य परेडमा प्रधानमन्त्री केपी शर्मा ओली जानु गलत रहेको बताए । जापानसँग नेपालको सात दशक लामो मित्रता रहेको र सबै समयमा सहयोग गर्दै आएको बताउँदै उनले यस्तो मित्र राष्ट्रको विरुद्धमा हुने कार्यक्रममा जानु नेपाल र नेपालीको शीर निहुर्याउनु रहेको बताए ।
‘जापानको विरुद्धमा आयोजना भएको चिनियाँ सैन्य परेडमा सहभागी हुनु, हाम्रो एकदम सात दशक पुरानो, अभिन्न मित्र, सबै समयमा सहयोग गर्ने, यस्तो मित्रको विरुद्धमा, जापानको विरुद्धमा यस्तो कार्यक्रममा भाग लिनु नेपाल र नेपाली जनताको टाउको निहुर्याउनुबाहेक हरु केही पनि होइन । यो सरासर एकदमै ठूलो गल्ती गरेको हो । कता–कता लाग्न थालेको छ कि खड्ग प्रसाद ओलीले नेपाललाई चीनको सेटलाइट स्टेट बनाउन थालेका हुन् कि भनेर मलाई शंका लाग्न थालेको छ,’– उनले भने ।




प्रतिक्रिया