काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को उपनिर्वाचनका लागि आफ्नो दलको तर्फबाट डा.लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाका ९ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सनबाट थापा उम्मेदवार चयन भएका छन् । उम्मेदवार चयन भएका थापा विवादरहित भने रहन सकेनन् । थापाविरुद्ध पार्टीमा बहुविवाहको उजुरीबीच रास्वपाले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
डा.थापाकी जेठी श्रीमती सुलोचना घिमिरे हुन् । उनी भैरहवास्थित युनिभर्सल कजेल अफ मेडिकल साइन्सेसमा कार्यरत छिन् । थापाकी कान्छी श्रीमती नुमा शर्मा हुन् । सुलोचना र नुमा दुवै पेशाले स्वाथ्यकर्मी नै हुन् । नुमा २०८१ मा नागरिक उन्मुक्ति पार्टीको कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य बनेकी थिईन् ।
डा.थापा स्वयं २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसदको सूचीमा थिए । उनको नाम नाउपाले निर्वाचन आयोगमा पेश गरेको अन्तिम बन्द सूचीको ९औं नम्बरमा छ । प्रदेशसभाको समानुपातिक सूचीबाट नाम नहटाइकन थापा प्रतिनिधिसभाको उपनिर्वाचनको प्रतिस्पर्धामा होमिएका हुन् ।
थापा अहिले पनि दुवै श्रीमतीसँग सम्बन्धमै रहेको बताइएको छ । रास्वपाका विवादित मान्छेलाई उम्मेदवार बनाउन नहुने भन्ने आवाजसमेत उठ्न थालेको छ । रास्वपा सचिवालय तहका नेताहरूले रूपन्देही–३ उम्मेदवारी फेर्नुपर्ने कुरा उठाएका छन् । रूपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा.थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् । न्युरोलोजी अध्ययन गरेका डा.थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।




प्रतिक्रिया