काठमाडौं, १६ भदौ । संघीय लोकतान्त्रिक मोर्चाले आज विराटनगरमा जनजागरण अभियान सञ्चालन गरेको छ । मोर्चाको पूर्वघोषित कार्यक्रमअन्तर्गत आज विराटनगरको अतिथी सदनमा ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’’ आयोजना गरिएको छ । उक्त कार्यक्रममा मोर्चाका शीर्ष नेताले सम्बोधन गरेका हुन् ।
मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै समय अहिले मञ्चमा बसेका सबै नेता एउटै पार्टीमा रहेको स्मरण गराए । उनले सबै उत्पीडितहरुले आ–आफ्नो राष्ट्रिय पहिचान अर्थात जातीय पहिचान खोजेका बताए । यादवले राष्ट्रिय पहिचानसंगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा स्वशासन खोजेको बताए। उनले भने,‘जोसंग लडेर अधिकार लिनुपर्ने उसैको पछि लागेपछी कहाँ अधिकार पाइन्छ भने?’ यादवले भूमि ऐन ल्याउनु भनेको देशलाई वनजंगलमुक्त बनाउने र धन कमाउने योजना रहेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी जनजातीलाई फुटाउ र राज गरको नीति लिएर कांग्रेस र एमालेले फुटाएर राखेको आरोप लगाएका छन् । उनले विगतको दिनमा मधेशी, थारु, आदिवासी जनजाती, दलित, पिछडावर्गहरुले छुट्टाछुट्टै संघर्ष गरेकाले असफल भएको बताए। त्यसकारण यदि उत्पीडितहरुले अधिकार, पहिचान, स्वायत्तता र स्वशासन खोजेको हो भने मिल्नुको विकल्प नरहेको महतोको भनाई छ । नश्लीय शासनसत्ताबाट मुक्ति चाहिएको छ भने राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य रहेको पनि महतोको भनाई छ ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार र पहिचानको लागि भएको आन्दोलनमा संघर्ष गरेका योद्धाहरूमाथि झुठा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेकोमा गुनासो पोखे । आफूहरुको बारम्बारको संघर्षले मधेश शब्दले मान्यता पाएको पनि ठाकुरको भनाई छ । उनले देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि रहेको बताए। उखु किसानलाई सरकारले वेवास्ता गर्नु ठीक नरहेको बताए। हैजा फैलिनु र खानेपानी अभाव हुनु भनेको सरकार लापरवाह बन्नु रहेको बताए।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले देश आफूहरुको पनि भएकोले राज्यपनि आफूहरुको हुनुपर्ने बताए। उनले एउटा नवजात शिशुलाई नर्सले हेरचाह गरेझैं शेरबहादुर देउवा र केपी ओली संविधानको हेरचाह गर्ने नर्स मात्र भएकोले आमाजस्तो ममता उनीहरुमा नभएको बताए। मधेशीहरु सामाजिक र राजनीतिक रूपमा विभाजित रहेको भन्दै अब एक हुनुपर्ने बताए।
कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधनको पक्षमा जनमत तयार गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन माग गरेका छन् । उनले आन्दोलनकारीमाथिको मुद्दा खारेज गराउन, आन्दोलनकारी राजबन्दी रिहाई गराउन, भुमि विधेयकसको विरोध गरि भुमिको रक्षा गर्न, भ्रष्टाचारको विरोध गर्न, जनजिविकाको सवालमा जनचाहनाअनुसार कार्य गर्न मोर्चा गठन भएको भन्दै मोर्चाको औचित्यबारे प्रकाश पारेका थिए ।
यस्तै, कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधानको संशोधन समावेशीताको ग्यारेन्टीको लागि चाहिने, पुर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संशोधन चाहिने, संशोधन अधिकार प्राप्तिको लागि चाहिने बताए। जनताले समर्थन गर्ने हो भने हामी मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउने बताए।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्र कुमार चौधरीले यो मोर्चा गठनले थारु, मधेशी, आदिवासी जनजाति बीच उत्साह बढेको छ। यो एकता मोर्चाले छिट्टै रुपन्देही क्षेत्र न.३को चुनावमा परिणाम दिने बताए। कार्यक्रममा मोर्चाका शीर्ष नेताहरु क्रमशः उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, केशव झा, जयराम यादव, चन्द्र कुमार चौधरी, चन्द्र प्रसाद राजवंशी, बलराम ऋषिदेव, मनिष मिश्र, सत्य नारायण साह, रेखा यादव, सन्तोष मेहता, आभास लाभ, रकम चेम्जोङ, तबरेज हक, डा. विजय सिंह, संजय सिंह, लगायतको विशेष उपस्थिति रह्यो। मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान संचालन गर्ने तय गरेको थियो। जसअनुसार अब १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ। कार्यक्रमको संचालन कोशी प्रदेशका पुर्व मन्त्री तथा संविधानसभा सदस्य जयराम यादवले गरेका थिए। कार्यक्रमको अध्यक्षता जसपा नेपालका मोरंग अध्यक्ष राजकुमार यादवले गरेका थिए।






प्रतिक्रिया