प्रचण्डसँग हाम्रो कहिल्यैपनि सहकार्य हुँदैन, माओवादीसँग चुनावी गठबन्धन गर्दैनौं : हरि ढकाल (भिडिओ सहित)


काठमाडौं, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग आफूहरुको कहिल्यैपनि सहकार्य नभएको बताएका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लगि पत्रकार ऋषि धमलाले ‘आज तपाईंहरुको प्रचण्डसँग सहकार्य छैन ?’ भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएक हुन् ।

उनले भने,‘कहिल्यै र कहीँपनि छैन । प्रचण्डसँग एकदिन पनि सहकार्य छैन । प्रमुख प्रतिपक्षी अहिले माओवादी हो, हामी चौथो दल छौं । अस्ति भिजिट भिसा काण्डमा उहाँले हामीलाई बीचमै छोडेर हिड्नुभयो । हामी कसैको पछाडि छैनौं । हामी त हामी हौं । यिनीहरु सबै एक ठाउँमा छन् ।’

ढकालले आफूहरुको पार्टी र माओवादी केन्द्रबीच चुनावी गठबन्धन कहिल्यैपनि नहुने जिकिर गरे । माओवादीसँगमात्रै नभएर कुनै दलसँगपनि चुनावी गठबन्धन नहुने उनको दाबी छ । उनले बालेन शाहले पार्टी खोलेपनि चुनावमा गठबन्धन नहुने स्पष्ट पारे । उनले पार्टीले अहिले रुपन्देही–३ को उपनिर्वाचनको लागि तय गरेको उम्मेद्वार प्राइमरी इलेक्सनबाट गरिएको जिकिर गरे । उनले रुपन्देहीको उपनिर्वाचनमा रास्वपाले चुनाव जित्ने ठोकुवा गरे । इलामको तितो अनुभवको कारण यसपटकको उपनिर्वाचनमा नयाँ प्रयोग गरिएको उनको दाबी छ ।