कर्मचारीको अवकाश उमेर बढाउने प्रस्तावबाट ‘ब्याक’ भयो सरकार


काठमाडौं, १७ भदौ । निजामती सेवा विधेयक पारित भएर ऐनको रुपमा लागू भएको वर्षमा कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम हुने भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन समितिको बैठकमा ऐन पारित भएको वर्ष कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै राख्ने सहमति भएको हो । यसअघि प्रतिनिधिसभाले पनि यही व्यवस्था राखेर उक्त विधेयक राष्ट्रिय सभामा पठाएको थियो ।

हिजो (सोमबार) बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष उमेर बनाउने प्रस्ताव राखेकी थिईन् । तर, प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाएका थिए ।

मन्त्री न्यौपानेमाथि मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको कार्यकाल लम्ब्याउने गरी प्रस्ताव ल्याएको आरोप थियो । अनिवार्य अवकाशको उमेर ५८ वर्ष हुँदा मुख्यसचिव अर्याल आगामी मंसिर ९ गते बिदा हुँदैछन् ।