काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनार्दन शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत पार्टीभित्रै राख्न सुझाव दिएका छन् । आज (मंगलबार) रोल्पामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बाहिरभन्दा बोल्नेभन्दा पनि असन्तुष्टि र फरक मत पार्टीभित्र राख्न सुझाव दिएका हुन् ।
‘आफ्नो मतलाई पार्टीको आधिकारिक निर्णय बनाउन मिल्छ । तर, पार्टीको न्यूनतम् नम्स भनेको पार्टीभित्रै कुरा राखौँ न भन्ने हो । त्यस कुरामा जनार्दनजीको कुरा मात्र होइन, सबै नेता–कार्यकर्ता पार्टी अनुशासनमा बसौं,’– उनले भने ।
उनले पार्टीका आन्तरिक द्वन्द्वलाई आश्चर्यको विषय बनाउनुभन्दा पनि स्वाभाविक रूपमा छलफल र बहस हुनुपर्ने बताए । साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले धेरै खेदेको टिप्पणी गरे । एउटै मुद्दामा फरक–फरक निर्णय हुनु न्यायसंगत नहुने उनको भनाइ छ । ‘रवि लामिछानेजस्तै केसमा सबैलाई पुर्पक्षमा राख्ने हो भने ठिक छ । तर, एउटै केसमा फरक निर्णय गर्नु न्यायसंगत हुँदैन,’– उनले भने ।
अरूलाई धरौटी, तारेखमा राखेर छानबिन गर्न सकिँदा लामिछानेलाई पनि त्यसै गर्नुपर्ने उनको धारणा रहेको थियो । सरकारमा रहेका दलहरूको अविवेकी र पक्षपातपूर्ण निर्णयले मान्छेमा झन वितृष्णा पैदा भइरहेको उनको भनाइ छ । ‘कांग्रेस–एमालेका साथीहरूसँग हाम्रो गुनासो– त्यस्तै केसमा सबैलाई त्यस्तै व्यवहार गर्नुस् न,’– उनले भने ।




प्रतिक्रिया