प्रधानमन्त्री ओलीलाई किरातीको प्रश्नैप्रश्नः जीएसआई संविधानको विरुद्ध रहेको दाबी


काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले सरकारले चिनियाँ सैन्य परियोजना ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई) लाई समर्थन गर्नु संविधानको विरुद्धमा हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले जिएसआईमा समर्थन जनाएको उल्लेख थियो । सोही प्रसंग उल्लेख गर्दै नेता किरातीले ‘सैन्य गठबन्धन जीएसआईलाई समर्थन गरेको कुरा चिनियाँ सरकारले भन्यो । के साँच्चै तपाई संविधानको विरुद्ध जानु भएको हो ?’ भन्दै प्रधानमन्त्री ओलीको जवाफ मागेका छन् ।

साथै, उनले प्रधानमन्त्री ओलीलाई राष्ट्रियता र लिपुलेकसम्बन्धमा इमान्दर हो भने नेपालको चुच्चे नक्सा विद्यालय पाठ्यक्रममा समावेश गर्न चुनौति दिएका छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरन्जीत प्रचारमार्फत भगवान बनाउने गलत प्रयास भएको उनको भनाइ छ ।

भगवान बनाउने प्रयासलाई क्रमशः आइरहेको प्रतिक्रियाले ‘कतै घाँटीमा हड्डी अड्किएको त होइन ?’ भन्ने आशंका पैदा गराएको पनि उनले टिप्पणी गरेका छन् । कूटनीति कुनै लहड, उक्साहट र भावनाको सीमाभित्र मात्रै सीमित नहुने पनि उनले बताएका छन् । ‘प्रधानमन्त्रीज्यू, प्रचार गरे जस्तै हो भने के अब चीन र भारत बीच भएको सहमति चीनले फिर्ता लिन्छ ?’ उनले प्रश्न गरेका छन् ।