जापानविरुद्धको सैन्य परेडमा प्रधानमन्त्री ओली सामेल हुनु असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत होः राजेन्द्र पाण्डे


काठमाडौं, १९ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले चीनको सुरक्षा रणनीति ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स (जीएसआई) बारे संसद्मा आएर प्रष्ट पारिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जीएसआईबारे सत्य कुरा जानकारी गराउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाललाई जीएसआईलाई समर्थन गरेको उल्लेख थियो । ‘चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स (जीएसआई) मा नेपाल समर्थन गर्छ भनेर वक्तव्य जारी भएको छ । प्रधानमन्त्रीको भ्रमण दलका मन्त्री र नेताहरुले यसमा नेपालको समर्थन छैन भन्ने कुरा भन्दै आएको देखिन्छ । सत्य कुरा चाहिँ के हो ? यो प्रष्ट हुन जरुरी छ,’– उनले भने ।

साथै, चीनले जापानमाथि विजय गरेको दोस्रो विश्वयुद्ध अन्त्यको ८०औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित परेडमा प्रधानमन्त्री सामेल हुनु असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत रहेको उनले बताए । जापान नेपालको प्रमुख विकास साझेदार देश रहेको स्मरण गराउँदै उनले जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा प्रधानमन्त्रीले भाग लिनु उचित नरहेको बताए । File Photo/RN