भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण नहुने भएकै हो त ?


काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर हिजो स्वदेश फर्किएका छन् । चीनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली हिजो राति काठमाडौं ओर्लिएका हुन् । चीनमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि भेटवार्ता गरेका थिए ।

चीन जानुअघि नै प्रधानमन्त्री ओलीको मोदीसँग भेटवार्ता तय भएको थिए । तर, साइडलाईन वार्ता हुनसक्ने नेपालका परराष्ट्र मन्त्रालयका अधिकारीहरुको दाबी थियो । रात्रिभोजमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता भयो । तर, उभिएरै गरेको भेटवार्ताको तस्विर बाहिरिएका थिए ।

जहाँ मोदीले सबै देशका नेताहरुसँग उभिएर भेटवार्ता गरेको तस्विर उनले आफ्नो सोसल मिडियामार्फत सार्वजनिक गरेका थिए । मोदीसँगको तस्विर भने प्रधानमन्त्री ओलीले छुट्टै हालेनन् । मोदीले सेयर गरेको तस्विर उनले पूनः सेयर गरेका थिए । चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भनिएको छ ।

तर, त्यहीअनुसारको भ्रमणको गृहकार्य दुवै देशका सरकारी अधिकारीले गरेका छैनन् । अहिले दुवै देशका राजदूतहरु यसबारे कुनै गृहकार्यमा छैनन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा दुवै जना नियमित काममा व्यस्त छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा उनीहरुको गृहकार्य भएको देखिँदैन ।

बरु, प्रधानमन्त्री ओली चीन भ्रमण सकेर काठमाडौं ओर्लिनेबित्तिकै भारतीय मिडियामा भने प्रधानमन्त्री ओलीको अहिले हुने भनिएको भारत भ्रमण नहुने भनेर समाचार आएका छन् । भारतीय मिडिया द प्रिन्टले त नेपालका प्रधानमन्त्री ओलीको यही सेप्टेम्बरमा भारत भ्रमण हुन नसक्ने सम्भावनाको समाचार लेखेको छ ।

चीनमा यसपटकको भेटवार्ताअघि नेपाल र भारतका प्रधानमन्त्री ओली र मोदीबीच युएन र विमस्टेक फोरममा भेटवार्ता भएको थियो । ओली प्रधानमन्त्री भएको १४ महिना पूरा भइसकेको छ । तर, अहिलेसम्म भारत भ्रमण हुन नसकेको छैन । कतिपयले भारतले भ्रमणको लागि नबोलाएको भनेका छन् ।

कतिपयले भने उपयुक्त समयमा भ्रमण हुने भनिरहेका छन् । अहिले भारतीय विदेशसचिव विक्रम मिश्री नै काठमाडौं ओर्लिएर प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको भनिएको छ । तर, अहिलेसम्म दुवै पक्षले भारत भ्रमणको मिति तय गर्न सकेका छैनन् । यस्तो अवस्थामा भारतीय मिडियाले यो सेप्टेम्बरमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन नसक्ने भनेर समाचार लेखेका छन् ।

यसअघि प्रधानमन्त्री ओली यही सेप्टेम्बर १५ मा भारत भ्रमणमा जाने भनिएको थियो । यसपटक प्रधानमन्त्री ओली र मोदीबीच भारतको बिहारमा रहेको बोधगयामा भेटवार्ता हुने भनिएको थियो । तर, दुवै सरकारी पक्षले अहिलेसम्म भ्रमणको मिति सार्वजनिक गरेका छैनन् ।