कर्ण थापाको फरक मतमा के छ ? ‘विद्या भण्डारीलाई राजनीतिमा बन्देज गरिएको विषय संविधान, कानून, पार्टी विधान र परम्पराको विरुद्धमा छ’


काठमाडौं, २० भदौ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट सुरु भएको छ । ललितपुरमा सनराईज हलमा सुरु भएको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले फरक मत पेश गरेका छन् । पार्टीमा आन्तरिक लोकतन्त्रको पालना र विधिको अवलम्बन गर्नुपर्ने उनको मत छ । यस्तै, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली विशेषताको समाजवाद निर्माणको दिशामा अघि बढ्न उनको अपिल छ ।

थापाले आफूहरुले स्थापित गरेका मान्यताबमोजिम पार्टी जीवन चलिरहेको छ कि छैन ? भनेरपनि प्रश्न राखेका छन् । जबजको प्रकाशमा वस्तुनिष्ठ भएर समिक्षा गर्नपनि उनले अपिल गरेका छन् । उनले कम्युनिष्ट आन्दोलनमा नेतृत्वको हस्तान्तरणको विषय पनि गम्भीर समस्याको रुपमा रहँदै आएको चित्रण गरेका छन् ।

आफ्नो फरक मतमा थापाले पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पनि कुरा उठाएका छन् । भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि पार्टीको उपाध्यक्ष रहेको र पार्टी निर्णयको पालना गरेर नै राष्ट्रपतिको जिम्मेवारी वहन गरेको उनको भनाई छ। विद्या भण्डारीको सक्रियताले देश, जनता र एमालेका लागि सबै दृष्टिबाट सकारात्मक र फलदायी हुने स्पष्ट पारेका छन् । उनले लेखेका छन्,‘उहाँको व्यक्तित्व, भूमिका र योगदानलाई राष्ट्र, जनता र पार्टीको हितमा उपयोग गर्नुको साटो हाम्रो पार्टीको सदस्यसमेत नरहनेगरि राजनीतिमा संलग्न समेत हुन नपाउनेगरि गरिएको निर्णय र लगाईएको बन्देज नेपालको संविधान, कानून र हाम्रो पार्टी विधान र परम्पराको विरुद्धमा समेत रहेको छ ।’