काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः पार्टीको राजनीतिमा फर्किने कुरा व्यवहारिक नहुने र त्यसले लोकतन्त्र र गणतन्त्रको गरिमा पनि कामय राख्न नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन खोज्नु गलत रहेको बताएका हुन् । सक्रिय राजनीतिमा फर्किनु पूर्व राष्ट्रपति भण्डारीको लागि व्यक्तिगत रुपमा पनि राम्रो कुरा नरहेको उनले बताए । भण्डारी दुई/दुई पटक एमालेकै सिफारिसमा राष्ट्रपति बनेको पनि उनले स्मरण गराए । भण्डारीलाई एमालेले राष्ट्रपतिमात्रै नभएर त्यसअघि पनि पटक–पटक मन्त्री बनाएर सम्मान गरेको उनको भनाइ छ । भण्डारीलाई एमालेको त्यतिधेरै माया हो भने उनले सदस्यता त्यागेर राष्ट्रपति बन्नु नै गलत भएको उनको भनाइ छ ।
‘उहाँ दुई/दुईचोटी मुलुकको राष्ट्रपति बनिसक्नुभयो । उहाँलाई सक्रिय राजनीति गर्न मन लाग्यो वा राज्यका निकायहरुमा रहने एक किसिमको भोक जाग्यो होला । त्यो उहाँको व्यक्तिगत विषय भयो । मुख्य कुरा के हो भने राष्ट्रपति बनाएको त एमालेले निर्णय गरेर पठाएको हो नि । त्यो पदमा पुगेको व्यक्ति फर्केर राजनीतिमा आउँदा त्यसको लाभ वा नोक्सान के हुन्छ, त्यो त पार्टीलाई हुन्छ नि । अहिले विद्यादेवी भण्डारी हुनुहुन्छ । भोलि कुनै व्यक्ति पार्टीका तर्फबाट राष्ट्रपति, उपराष्ट्रपतिको जिम्मेवारीमा पुग्ला । यो निर्णय त आउने भोलिका निम्ति पनि होला नि त । विद्या भण्डारीको लागिमात्रै होइन नि त । अहिले कस्तो भयो भने, उहाँलाई पार्टीले यदि उहाँको कामको योगदानको मूल्याङ्कन गर्ने थिएन । उहाँलाई पार्टीले सम्मान गर्ने थिएन भनेदेखि त एक पटक होइन दुई/दुई पटक राष्ट्रपतिको पदमा पुर्यायो । देशको मन्त्री पनि बनायो,’– उनले भने ।
एमालेलाई कमजोर बनाउन चाहने तत्वहरुले विद्यादेवी भण्डारीलाई अगाडि सारेको उनको दाबी छ । एमाले एकतावद्ध भएको देख्न नचाहने, एमालेलाई मिशन ०८४ मा केन्द्रीत भएको र साह्रा पार्टीलाई जनताको बीचमा परिचालन गरेर फेरि नयाँ उभार सिर्जना गरिरहेको देख्न नचाहने शक्तिहरुले सल्बलाइरहेको उनको भनाइ छ । ‘यो देख्न नचाहने मान्छेहरुले कहाँबाट कसलाई प्रोभोक गर्ने र वातावरण धुमिल्याउने, कसरी एकतालाई कमजोर पार्ने भन्नेतिरमात्रै यहाँ धेरेको ध्यान गएको म देख्छु । त्यसकारणले गर्दा यस्ता विषयहरु बजारमा आउने गरेका छन्,’– उनले भने ।




प्रतिक्रिया