काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शितल निवास (राष्ट्रपति कार्यालय) क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) क्षेत्र, नारायणहिटी दरवार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा थप कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि बानेश्वर संसद् भवन क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । जेनजी पुस्ताको आन्दोलन थप आक्रमक बन्दै गएपछि कर्फ्यू आदेश जारी गरेर सेना परिचालन गरिएको छ ।
कर्फ्यू आदेश जारी भएको सीमानाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न नपाउने बताइएको छ । ती क्षेत्रमा अपरान्ह १ बजेदेखि आज राती १० बजेसम्म कर्फ्यु जारी रहने छ ।
शितल निवास क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म चार किल्ला तोकिएको छ । ।
त्यस्तै, उपराष्ट्रपति कार्यालय क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, र नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म कर्फ्यू आदेश जारी भएको हो ।
त्यसैगरी, सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।




प्रतिक्रिया