‘जेन-जी’ आन्दोलनलाई हिंसात्मक बनाउने मुख्य जिम्मेवार ओली सरकार होः राजेन्द्र महतो


काठमाडौं, २३ भदौ । राष्ट्रिय मुक्ति पार्टीले जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन र हिंसाको बाटो अपनाएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै जेन–जीको आन्दोलनलाई हिंसात्मक बनाउने मुख्य जिम्मेवार केपी ओली नेतृत्वको सरकार रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वको सरकार आफ्नो नैतिक जिम्मेवारीबाट पलायन हुँदै देशव्यापी रूपमा चलिरहेको शान्तिपूर्ण युवा आन्दोलनलाई दबाउन हिंसा, दमन र निषेधाज्ञाको सहारा लिएको राष्ट्रिय मुक्ति पार्टीको निष्कर्ष छ ।

‘शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा सरकारले गरेको हस्तक्षेप, अनावश्यक बल प्रयोग र नागरिक अधिकारमाथिको दमनले गर्दा परिस्थिति हिंसात्मक बन्न पुगेको हो । भ्रष्टाचारमा लिप्त सरकार आफ्नो अपराध लुकाउन युवाहरूको आवाजलाई बलपूर्वक दबाउन लागेको हो,’– विज्ञप्तिमा भनिएको छ ।

भ्रष्टाचार लुकाउन र लुटपाट गर्नकै लागि दुई ठूला दलबीचको गठबन्धन सरकार बनेको महतोको दाबी छ । सरकारले २६ वटा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले नागरिक स्वतन्त्रता गम्भीर रूपमा हनन भएको र यसले जनताको आक्रोश बढाएको महतोले बताएका छन् ।

राष्ट्रिय मुक्ति पार्टीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन, घाइते भएका सबै प्रदर्शनकारीको निःशुल्क उपचारको व्यवस्था र मृत्युको वास्तविकता तुरुन्त सार्वजनिक गर्न र आन्दोलनकारी युवाहरूको भ्रष्टाचार नियन्त्रण र जवाफदेहितालगायत जायज मागहरूको तत्काल सम्बोधन गर्न माग गरेको छ ।

जेन–जी युवाहरूको आवाज देशको भविष्यका लागि पूर्ण रूपमा जायज रहेको पनि राष्ट्रिय मुक्ति पार्टीको भनाइ छ । जेन–जीको आन्दोलनमा भएको ब्यापक दमन अलोकतान्त्रिक, निरंकुश मात्र नभई प्रतिगामी एवं औपनिवेशिक पनि रहेको बताइएको छ ।