काठमाडौं, २४ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनले वर्तमान सरकारलाई एकछिन पनि सत्तामा बसिराख्नै नैतिकता नरहेको बताएका हुन् । उनले जेन–जीको प्रदर्शनमा सरकारले दमन गरेर नरसंहार नै गरेको बताए ।
‘यो घटना यति निर्दयी, निरङ्कुश र आर्ततायी भयो कि नरसंहार नै गरियो । जेन–जी पुस्ताले गरेको यो आन्दोलनमा सरकारले गरेको यो नरसंहारको म घोर भर्त्सना गर्न चाहन्छु । नेपालमा आन्दोलनमा आजसम्म यति ठूलो संख्यामा हातहात भएको थिएन । यो नरसंहारको भएको छ, यो नरसंहारको जिम्मेवारी यो सरकारले लिनुपर्छ । तत्काल सरकारले राजीनामा दिनुपर्छ,’– उनले भने ।
अहिले राष्ट्रिय संकट नै देखापरेको भन्दै उनले दलहरु यसको विकल्प दिन तयार हुनुपर्ने बताए । जेन–जीको मागप्रति सबै दलहरु गम्भीर हुनुपर्ने र निकासको लागि सबै तयार हुनुपर्ने उनको भनाइ छ । जेन–जीको माग सर्वस्वीकार्य रहेको उनको भनाइ छ । ‘युवाहरुको मागहरु एकदमै सर्वस्वीकार्य छन् । भ्रष्टाचारको विरुद्धको जो मागहरु छन्, अत्यन्त जायज हुन् । ती मागहरुप्रति गम्भीर भएर त्यसको समाधानतिर जानुपर्ने बेलामा दमन गरियो । यो कसरी सकेको हो ? यति निर्दयी र क्रुरतातिर लगेको छ,’– उनले भने ।




प्रतिक्रिया