गगनले मागे प्रधानमन्त्री ओलीको राजीनामा, कांग्रेस अब साक्षी र साझेदार रहन नसक्ने चेतावनी


काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छाड्न सुझाव दिएका छन् । जेन–जी पुस्ताको प्रदर्शनको क्रममा भएको दमनको जिम्मा लिएर प्रधानमन्त्री ओलीले अबिलम्ब पद छाड्नुपर्ने उनको भनाइ छ ।

‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’– महामन्त्री थापाले भनेका छन् ।

साथै, कांग्रेस अब तत्काल सरकारबाट फिर्ता हुनुपर्ने पनि उनले बताएका छन् । यस्तो परिस्थितिमा कांग्रेस साक्षी र साझेदारको रुपमा रहन नसक्ने उनको भनाइ छ । ‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,’– उनले भनेका छन् ।