जेन-जी आन्दोलन ओली, देउवा, दाहाल र उनीहरुको परिवारको विरुद्धमा होः पूर्व डिआईजी मल्ल (भिडिओसहित)


काठमाडौं, २४ भदौ । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले जेन–जी आन्दोलन विशेषगरी तीन शीर्ष नेता र तिनीहरुको परिवारको विरुद्धमा रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जी आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उनीहरुको परिवारको विरुद्धमा रहेको बताएका हुन् । शीर्ष भनिएका तीन नेताहरुले सत्तालाई घुमाइरहेको र अति भएपछि त्यसको विरोधमा युवाहरु प्रदर्शनमा आउनुपरेको उनले बताए ।

‘अहिलेको आन्दोलन तीनवटा परिवारको विरोधमा हो । एउटा देउवा फ्यामिलीको विरोधमा हो, अर्को अहिलेका प्रधानमन्त्रीको विरोधमा हो र माओवादीका अध्यक्ष प्रचण्डको विरुद्धमा हो । उनीहरुले जुन किसिमले सत्तालाई घुमाइरहेका छन्, त्यसको विरोधमा अहिले अति भएपछि आन्दोलन भएको हो,’– उनले भने ।

साथै, जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । जेन–जी आन्दोलनलाई राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत गम्भीरतापूर्वक कभर गरेको उनले बताए । ‘यो क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ । सरकारकै जिम्मेवारी हो यो । यो सानो घटना होइन, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि सिरियसली कभर गरेका छन्,’– उनले भने ।

साथै, उनले गृहमन्त्री रमेश लेखकलाई बुढानीलकण्ठको डमीको संज्ञा दिए । गृहमन्त्री भएपछि लेखकले छलफलमा बोलाएकाले आफू पनि गएको बताउँदै उनले भने, ‘उहाँ गृहमन्त्री भएपछि छलफलमा मलाई पनि बोलाउनुभएको थियो । गएको थिएँ । तर, के हो भने–मेरो नजरमा उहाँ डमी हो । उहाँ सुरुदेखि नै बुढानीलकण्ठको डमी हो । डमीले मन्त्रालयले प्रपर्ली चलाउन सक्दैन ।’