बुढानिलकण्ठको घरमा आगजानी हुँदा देउवा दम्पत्ति थिएनन्, पार्टी कार्यालयसमेत आगजनीले ध्वस्त भयो


काठमाडौं, २४ भदौ । जेन-जी पुस्ताको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा र दमन गर्दा १९ जना नागरिकको ज्यान गएपछि देश यतिवेला आन्दोलनले बलेको छ । प्रदर्शनकारी युवाहरुले नेताहरुको घर छानी छानी आगो लगाएका छन् ।

उनीहरुले शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र गगन थापालगायतका नेताहरुको घर आगजानी गर्नुको साथै तोडफोड गरेका छन् । थुप्रै पार्टी कार्यालयहरु जलेका छन् । परिस्थिति नियन्त्रणबाहिर गएपछि मन्त्री क्वार्टरबाट मन्त्रीहरुलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा ओसारिएको समाचार छन् ।

भैंसेपाटीस्थित् मन्त्री क्वार्टरमा थुप्रै पटक हेलिकप्टर ओहोर दोहोर गरेको छ । कांग्रेस सभापति देउवा भने आफ्नो घरमा आगजानी भैरहँदा निवासमा नरहेको बताईन्छ । उनकी पत्नी डा. आरजु राणासमेत निवासमा नभएको बताईन्छ ।

उनीहरु दुवै जना बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेको उच्च स्रोतको दाबी छ । देउवा हिजोको परिस्थितिको विश्लेषण गर्न र महत्वपूर्ण निर्णय लिनको लागि बिहानै बालुवाटार पुगेको बताईन्छ । file photo