बृहत्त नागरिक आन्दोलनद्वारा बालेन शाहलाई कित्ता स्पष्ट गर्न सुझाव, नेपाली सेनाको भूमिकामाथि उठायो प्रश्न (विज्ञप्तीसहित)


काठमाडौं, २६ भदौ । बृहत नागरिक आन्दोलनले प्रतिक्रान्तिलाई परास्त गर्न अपिल गरेको छ । बहृत नागरिक आन्दोलनले आज (बिहीबार) एक विज्ञप्ती निकाल्दै जेनजीको आन्दोलनका शहीदहरुको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र मञ्चन भैरहेको आरोप लगाएको छ । उसले भनेको छ,‘यो हामीलाई पटक्कै स्वीकार्य छैन । जेनजी आन्दोलनको म्याण्डेट र बलिदानीहरुको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो । यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्वपूर्ण चूनौति हो ।’

जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरु र निजी क्षेत्रको भौति, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरु अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यतामा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य रहेको भनेको छ । आन्दोलनले नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ भनेको छ । नागरिक आन्दोलनले काठमाडौं महानगरका प्रमुख बालेन शाहको भूमिकामाथि पनि प्रश्न उठाएको छ र तत्काल आफ्नो कित्ता स्पष्ट पार्न भनेको छ ।