काठमाडौं, २७ भदौ । प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताको लागि शितलनिवास पुगेका छन् । हिजोदेखि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । जेन–जीले प्रस्ताव गरेको नाम सुशिला कार्कीलाई नै नयाँ सरकारको प्रमुख बनाउने राष्ट्रपतिको तयारी छ ।
प्रधानसेनापति सिग्देल र प्रस्तावित प्रधानमन्त्री कार्कीलाई राखेर राष्ट्रपति पौडेलले हिजो राति अबेरसम्म सघन वार्ता गरेका थिए । तर, संसद् विघटन गरेर निकास खोज्ने कि संसद् कायम राखेर भन्ने विषयमा सहमति जुटेको छैन । राजनीतिक दल, संविधानविद्हरु, मानवअधिकारसम्बन्धी संघ–संस्था, नागरिक समाजका अगुवालगायतले संविधानभित्र रहेर निकास खोज्ने राष्ट्रपतिमाथि दबाब सिर्जना गरेका छन् ।
शितलनिवासमा जेन–जी पुस्ताको तर्फबाट हामी नेपालका संयोजक सुधन गुरूङपनि गएको बताईएको छ । अहिले शितलनिवासको वार्तामा सहमति बने राष्ट्रपति पौडेलले आजै सुशिला कार्कीलाई नयाँ सरकारको प्रधानमन्त्री नियुक्त गर्नेछन् । यता, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा भने कर्मचारीतन्त्रले नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी थालेको छ ।
मुख्यसचिव एकनारायण् अर्यालको नेतृत्वमा आज सिंहदरबारमा प्रशासनिक भवनहरुको अवलोकन गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ध्वस्त भएकोले नयाँ प्रधानमन्त्रीलाई गृह मन्त्रालय रहेको भवनमा स्वागत गर्ने कर्मचारीहरुको तयारी छ । गृह मन्त्रालयलाई शिक्षा मन्त्रालयमा सारिने भएको छ। सिंहदरबारमा रहेको शिक्षा मन्त्रालयलाई भने केशर महल पुर्याईने भएको छ ।




प्रतिक्रिया