राज्यले सब्सिडी दिएर निजी क्षेत्रलाई बचाउनुपर्छ : अर्थशास्त्री दिलनाथ दंगाल


काठमाडौं, २८ भदौ । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।

अर्थशास्त्री दिलनाथ दंगालले समस्यामा रहेको नेपालको अर्थतन्त्रमा झनै चूनौति थपिएको बताए । उनले भने,‘अहिले भयावह स्थिति छ । सबभन्दा ठूलो कुरा निजी क्षेत्र, अत्यन्तै धेरैलाई रोजगार दिएको क्षेत्र हो । निजी क्षेत्र दुःखी छ । हामीसँगको कुराकानीमा उहाँहरुले अब नेपालमा बसेर लगानी गर्ने आधार के ? भ्रष्टाचार गरे सरकारले गर्ने हो । कुशासन र अनियमितता सरकारी क्षेत्रमा हुन्छ, हामीलाई किन आक्रामण भन्नुभएको छ ।’

उनले अहिले रोजगारी कटौती हुने खतरा औंल्याए । उनले भने,‘भाटभटेनी, गाडीका सोरुम तहसनहस भएका छन् । आन्दोलनमा होमिएकाहरुले पनि रोजगारी गुमाउनुपर्छ । सफा गर्न धेरै दिन लाग्छ । हाम्रा ऐतिहासिक दस्तावेज जलेका छन् । खरानीमात्रै भएको छ । ६० अर्ब बराबरको वरिपरिमा बिमा घाटामा जान्छ ।’

उनले चलनचल्तीका २० प्रतिशत नोट जलेको पनि सुनाए । उनले भने,‘यसले अर्थतन्त्रलाई असर पारेको छ । डलर पनि जलेको छ । अब वकास खर्च शून्यमा आउँछ । निजी क्षेत्रबाट आउने राजश्व गुम्छ । राज्यले सब्सिडी दिएर निजी क्षेत्रलाई बचाउनुपर्छ । विदेशी पर्यटक आउने सम्भावना कम देखिन्छ । युवा पलायन रोक्न सकिँदैन । नेपालमा बस्छु भन्नेहरु युवाहरु पनि देश छोड्ने अवस्था आउँछ, अध्ययन र रोजगारको लागि जाने अवस्था सिर्जना भएको छ ।’

उनले यो आन्दोलनबाट कृषि क्षेत्रमा धेरै नकारात्मक असर नदेखिएको बताए । उनले अब अर्थतन्त्र आन्दोलन हुनुअघिको दिनसम्म पुर्याउनको लागि नै २० वर्ष लाग्ने दाबी गरे । उनले भने,‘यस्ता घट्नाबाट पाठ सिक्ने हो भने पूननिर्माणमा जान सक्छौं । सानो र छरितो सरकार बन्नुपर्छ । सरकारको खर्च कटौती गर्नुपर्छ । मन्त्रालयगत खर्च कटौती गर्नुपर्छ ।’

उनले अब गृह मन्त्रालयको जिम्मा लिने व्यक्तिले यो आगजानी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिए । उनले भने,‘७० प्रतिशत सिसिटीभी फुटेज सुरक्षित छन् । त्यो हेरेर अब लस भएको सम्पत्ति लिनुछपर्छ । आन्तरिक उत्पादन गर्नुपर्छ । बिग पुसको आवश्यकत्ता छ । आन्तरिक र बाहृय ऋण लिएर कदम चाल्नुपर्छ ।’