ज्वालाले निलेको मेरो साहित्य संसार…


वसन्तकुमार चौधरी:

अस्ति केही मानवताहीन अराजक तत्वले मेरो ठमेल स्थित घरमा लगाएको आगो शान्त भएपछि अन्नत: म बाँकी रहेको मौनतामा छिरेँ। त्यहाँ मैले देखेको दृश्य केवल विनाश मात्र थिएन— कुनै युद्धमा शत्रुसेनाले गर्ने सीमान्त दुर्व्यवहार थियो त्यो । र मेरा लागि त्यो हृदयविदारक असह्य पीडा थियो। मेरो चिन्तनकक्ष, मेरो अध्ययनकक्ष, मेरो निजी पुस्तकालय खरानीमा परिणत भएका थिए।

५० वर्षभन्दा बढी समयअघि मैले माया र स्नेहले यो धरोहर निर्माण गरेको थिएँ। केही लेखकहरूले आफैँले स्नेहपूर्वक प्रदान गरेका, केही यात्राको क्रममा टाढा–टाढाका देशबाट बटुलेका दुई हजारभन्दा बढी महत्त्वपूर्ण पुस्तकहरू थिए त्यहाँ। ती केवल कागज र मसीका थुप्रो मात्र थिएनन्—ती मेरा सहचर थिए, मेरा गुरुहरू थिए र मेरो जीवनयात्राका साक्षी थिए। ती मेरा खुसी र उदासीका साथी थिए, मलाई मार्गनिर्देश गर्ने आत्मीय थिए, जसको अवसानपछि अब म सायद आजीवन उदास र एक्लो हुनेछु ।

एकै रातमा कुनै प्रयलमा परेजस्तो तिनीहरू बिनाअपराध यसरी खरानी भए, त्यसको स्मृतिसम्मले पनि मेरो हृदय चिराचिरा हुन्छ । एउटा लेखकका लागि यो केवल ‘वस्तु’को मात्र क्षति होइन, एक प्रकारले आत्माको अवसान नै हो। त्यसपछि लाग्यो, म आत्मिक रूपमा नै खाली र नितान्त रित्तो भएको छु।

तर यस पीडाबीच पनि बोध भयो- आगोले पानाहरू जलाउन सक्छ तर ज्ञान जलाउन सक्तैन। ज्वालाले किताब सजाउने र्‍याकहरू निल्न सक्छ तर मुटुमा उत्कीर्ण कथाहरू मेटाउन सक्तैन। साहित्यिक कृतिहरू त आगोको ज्वालाले खाक पार्यो तर त्यसको सार त मेरो स्मृतिभित्र जीवनपर्यन्त जिउँदो रहने छ।

यस विपत्तिले मलाई एउटा सनातन सत्यको सम्झना गरायो : यस संसारमा सबै कुरा अस्थायी छन्, केही-कोही पनि सधैँलाई आफ्नो हुँदैन। हामी केवल केही समयका लागि मात्र यसको संरक्षक हुनसक्छौँ। र, साँचो पुस्तकालय काठका र्‍याक वा कागजमा होइन—स्मृतिमा र निरन्तर सिर्जनामा बाँचिरहन्छ।

आज म शोक मनाइरहको छु। किनकि आगोले मेरो साहित्यिक पुस्तकालयलाई खरानी बनायो तर त्यसले मभित्रको लेखकलाई, मभित्रको सर्जकलाई जलाउन सकेन, मौन गराउन सकेन। मेरो कलमले अझै लेख्ने छ, कालान्तर लेखिरहने छ । मेरो मुटु अझै धड्किरहने छ, आजीवन धड्किरहने छ। यतिखेर म अन्यौलमा हुनसक्छु तर मेरो सर्जक मन पटक्कै अन्यौल र अलमलमा छैन । त्यसैले आजको यो उदास र हतास मनले मानिसलाई मारेर उसको विचार मार्न सकिँदैन र किताब जलाएर ज्ञान जलाउन सकिँदैन भन्ने एउटा शाश्वत इतिहास पुस्तौँपुस्ताका लागि लेख्ने छ ।