काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् । जेन–जी आन्दोलनको संश्लेषण र आगामी रणनीतिबारे आफ्नो १६ बुँदे प्रस्ताव राख्दै उनले भनेका छन्, ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।’
त्यस्तै उनले जेन–जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेको भन्दै त्यसको सकारात्मक संश्लेषण गरिनुपर्ने धारणा राखेका छन् । जेन–जी आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेको बताउँदै उनले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको उल्लेख गरेका छन् ।
त्यस्तै, वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने, पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने, २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्ने, कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्ने, वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्ने उनको माग छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्ने, पार्टीभित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने, सांस्कृतिक विचलन, यौन अराजकताजस्ता घटनाक्रमको छानबिन गर्नुपर्ने, शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षणसम्बन्धी नीति तय गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, श्रम र आर्थिक उत्पादनसम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रममार्फत् सबैलाई स्वरोजगार बनाउन अभियान सुरू गर्नुपर्ने, राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्ने उपमहासचिव शर्माको माग छ ।




प्रतिक्रिया