काठमाडौं, १ असोज । धरानका मेयर हर्क साम्पाङले निरन्तर काठमाडौंका मेयर बालेन शाहमाथि प्रहार गरिरहेका छन् । जेन–जीको आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा आफू निकास दिनकोलागि काठमाडौं आएको बताउने साम्पाङ प्रधानमन्त्री नपाएपछि गृहजिल्ला फर्किएका थिए ।
उनले आफूलाई खानेपानी र श्रम मन्त्रालयको नेतृत्व लिन आग्रह गरिएको भएपनि अस्विकार गरेको स्पष्ट पारेका थिए । धरान पुगेपछि भने उनले बालेन शाहमाथि प्रहार गर्न थालेका छन् । आफूमाथि प्रहार गर्न थालेपछि बालेनले पनि हर्कलाई सम्बोधन गर्दै आफूले एकतर्फी माया गरेको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए ।
अहिले बालेन शाहले पार्टी खोल्ने तयारी गरेको चर्चा छ । यही सन्दर्भमा हर्कले ‘देश जलाएर आफू लुकेर बस्नेले पार्टी खोल्ने रे, विदेशी एजेन्टले खोल्ने पार्टीमा आवद्ध हुने युवा कस्ता होलन् ? कति हाँस्नु म त हाँसेरै मर्छु होला ।’ उनले भूराजनीतिको नाममा विदेशीको डिजाइनमा चलिञ्जलेसम्म जति हजार र जति लाख शहिद बनेपनि देश नबन्ने ठोकुवा गरेका छन् ।
उनले आजै लेखेका छन्–‘यो माटोमै उम्रिएको स्वाधिनताको विचारलाई विदेशीले मन पराउँदैनन् । बाहिरी संसारमा एउटा देखिन्छ तर भित्री कुरा अर्कै हुन्छ । यो देशका सच्चा नेपालीहरुलाई मेरो कुरा मनपर्छ तर विकाउ र परिचालितहरुले गाली गर्छन् मलाई ।’




प्रतिक्रिया