काठमाडौं, २ असोज । राजनीतिक विश्लेषक मुमाराम खनालले संसद्को पनि समर्थन लिएरमात्रै नयाँ सरकार बनेको भए र संसद् विघटन गरेको भए दलहरुलाई निर्वाचनमा लिएर जान सजिलो हुने थियो भन्ने धारणा राखेका छन् । तर, अहिले संसद् नभएको बेलामा त्यसको चर्चा गर्नु निरर्थक हुने उनको भनाई छ । सुशीला कार्की नेतृत्वको अहिलेको सरकारको प्राथमिकता भनेको राजनीतिक दलहरुलाई निर्वाचनमा लिएर जानु रहेको खनालको भनाई छ ।
आज (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘निर्वाचन हुनको लागि अहिलेका दलहरुलाई निर्वाचनमा जाने वातावरण पनि बनाउनुपर्यो । त्यसको लागि दलहरुलाई अझैपनि सरकारको पूर्णता पनि छैन, त्यसलाई चाँडो भन्दा चाँडो पूर्णता दिने, जति पनि ज्यादती भएका छन्, त्यसको छानबिनको लागि अविलम्ब प्रयास गर्ने, देश करिब करिब जलेर सरकार चलाउनपनि धेरै कठिन छ ।’
उनले चाँडो भन्दा चाँडो सबै सरोकारवालाहरुको समर्थन लिएर चुनावमा होमिनुपर्नेमा जोड दिए । अहिलेका शीर्ष नेताहरुले मुलुक समाप्त पारेको र आफ्नो दलपनि सक्काएको खनालको टिप्पणी छ । अझैपनि उनीहरुलाई सत्ता, पद र प्रतिष्ठाप्रतिको मोहमा कत्ति पनि कमी नभएको उनको आरोप छ । उनले भने,‘घर जलेर यी नेताको खरानी भएको छ, घरभित्र राखेका पैसा जलेर खरानी भएको छ, त्यही पनि यी नेताको बुद्धि अझैसम्म आएको छैन । यति धेरै घृणा चलिरहेको छ, तर उनीहरुलाई के लागेको छ भने पार्टीभित्र म लोकप्रिय छु भन्ने छ ।’
भदौ २३ गते राज्यले गरेको ज्यादतीको बारेमा सरकारले रियल टाइम इन्टरभेन्सन गरेको भए भदो २४ गते यत्रो ठूलो घट्ना नघट्ने उनको दाबी छ । उनले भने,‘तुरुन्तै केपी ओलीको राजीनामा आएको भए, तुरुन्तै गृहमन्त्रीको राजीनामा आएको भए, ती दोषीहरु जसले गोली चलाउन आदेश दिएका थिए, उनीहरुलाई कारबाही गर्न आदेश दिएको भए २४ गतेको घट्ना घट्ने थिएन नि त ।’
उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई वैकल्पिक नभएर नयाँ पार्टी भनेको कुरा पनि स्मरण गराए । उनले भने,‘यो नयाँ पार्टीको नेतृत्व त अझ बढि अनैतिक देखियो, किनभने जेलबाट आफू जुन तरिकाले छुटे रवि लामिछाने, त्यसले पनि अनैतिकता देखायो । त्यहाँको पनि नेतृत्व जेन जीले अस्विकार गरिदियो ।’




प्रतिक्रिया