गृहमन्त्री अर्याल प्रहरी मुख्यालयमा, जेन–जी आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने विश्वास


काठमाडौं, २ असोज । गृह एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सो क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए ।

सो क्रममा उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए । गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन–जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पु¥याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताए ।

अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्यालसमक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।