संविधान स्वयं जीवन-रक्षाको लागि भेन्टिलेटरमा पुगेको छ : राजेन्द्र महतो


काठमाडौं, २ असोज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल अहिले गहिरो संवैधानिक, आर्थिक र सांस्कृतिक संकटको दोबाटोमा उभिएको टिप्पणी गरेका छन् । उनले नवीन नेपाल निर्माणको निम्ति निर्णायक कदम चाल्न सार्वजनिक अपिल गर्दै आम जनसमूदाय र साहसी जेन-जी पुस्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

जेनी-जी पुस्ताले बगाएको रगत र बलिदान केवल आन्दोलनको इतिहास नभएर यो नेयाँ नेपालको पीडा भएको महतोको भनाई छ । दर्जनौं शहादत, हजारौं घाइते र असीम धनजनको क्षतिको मूल्यमा शुरु भएको यो क्रान्ति नेपाललाई नयाँ जीवन दिने ऐतिहासिक अवसर भएको पनि उनको दाबी छ ।

उनले आफूहरुले दशकौंदेखि यो संविधान अपूर्ण छ भनेको र यसलाई पूर्ण बनाउन भनेको स्मरण गराएका छन् । संविधानलाई सबै नेपालीको अधिकार र स्वाभिमानलाई रक्षा गर्ने बनाउँ भन्दा आफूहरुलाई उपहास गरिएको पनि उनले स्मरण गराएका छन् । उनले अहिले यो १० वर्षमा संविधान स्वयं जीवन रक्षाको लागि भेन्टिलेटरमा पुगेको टिप्पणी गरे ।