काठमाडौं, ७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूले प्रधानमन्त्री बन्नका लागि आएको अफर अस्वीकार गरेको बताएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत उनले आफूले विदेशीहरुको खेलमा जान नचाहेकाले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको बताएका हुन् । आन्दोलन चमर उत्कर्षमा पुगेको बेला नेपाली सेनाको मुख्यालय पुगेर प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलसँग संवाद गरेका थिए ।
सोही प्रसंगलाई जोड्दै सञ्चारकर्मीहरुले ‘तपाईँ जंगी अड्डामा गएर छलफल गर्नुभएको थियो । तपाईँलाई प्रधानमन्त्रीको अफर आएको हो ?’ भन्ने प्रश्नमा प्रसाईँले भने, ‘आएको हो । तर, मैले विदेशीहरुको खेलमा म जान्न । किनभने यो देश जोगाउनका लागि भएका दल त सकिए । उनीहरु आफ्नै कारणले सकिए, भ्रष्टाचार गरेर सकिए । यिनीहरुकै कारणले गर्दा यहाँ विदेशीले बुट बजार्न आँटे । भोलि अप्ठ्यारो पर्दाखेरी तपाईँहरु सबैको आँखा अहिले दुर्गा प्रसाईँतिर छ हैन ? मैले अहिले गएर त्यहाँ प्रधानमन्त्री के, मसँग घर छदैछ, गाडी छदैछ । म के गर्न जानु त्यहाँ ? जुनदिन देशलाई अप्ठ्यारो पर्छ, त्यो दिन दुर्गा प्रसाईँ र दुर्गा प्रसाईँको अभियान अगाडि बढ्छ भनेर म आएको हो ।’
साथै, उनले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । उनले यो सरकार निर्वाचन गराउनेखालको नै नबनेको जिकिर गरे । उनले भने, ‘यो मलाई जहाँसम्म लाग्छ निर्वाचन नै हुँदैन । यो सरकार बन्यो निर्वाचन गराउनेखालको ?’
प्रसाईँले आफूहरुले दसैं, तिहार र छठपछि आन्दोलनको तयारी रहेको पनि बताए । उनले हिन्दु अधिराज्य कायम नगरिकन अब आन्दोलनबाट ब्याक नहुने बताए ।




प्रतिक्रिया