काठमाडौं, ७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले अहिले काम गर्नका लागि एकदम सहज रहेको र यो परिस्थितिको फाइदा उठाउनुपर्ने बताएका छन् । आज (मंगलबार) पदभार ग्रहण कार्यक्रमका क्रममा बोल्दै उनले विद्युत प्राधिकरण सबैभन्दा सहज र अनुकूल अवस्थामा रहेको बताएका हुन् ।
‘प्राधिकरणमा ८ वर्ष कार्यकारी निर्देशक रहनुभएका कुलमान घिसिङ मन्त्री हुनुहुन्छ । त्यसैले नेपाल सरकारबाट पनि पर्याप्त सहयोग हुन्छ । यस्तो सहज परिस्थिति सायद भविष्यमा नहोला । काम गर्नका लागि एकदम सहज छ, यो परिस्थितिको फाइदा उठाउनुपर्छ,’– उनले भने ।
साथै, उनले आफूले राजनीतिक नियुक्तको अर्थ बुझेको र अर्को सरकार आएको भोलिपल्टै पद छोड्न तयार रहेको पनि बताए । राजनीतिक नियुक्तिको कुनै पनि निश्चित अवधि नहुने उनको भनाइ छ । ‘म सधैँ बस्छु भनेर आएको होइन । राजनीतिक नियुक्तिको अर्थ बुझेको छु । यसको अवधि हुँदैन । लोकसेवा दिएर ४ वर्ष बस्छु भनेर आएको होइन । जति दिन बस्छु, काम गर्छु,’– उनले भने ।
काम गर्न नसकेको दिन ‘साथी हो, मैले सकिनँ’ भनेर छोडेर हिँड्ने पनि उनले बताए । उनले आफू प्राधिकरणमा फोटो टाँस्नमात्रै नआएको बताए । राम्रो काम गरेको खण्डमा मात्रै फोटो टाँस्न पनि उनले आग्रह गरे ।




प्रतिक्रिया