लोकतान्त्रिक पार्टीका नेतालाई जेल हाल्ने चलखेल भैरहेको प्रचण्डको दाबी, औंल्याए संविधान मासिने खतरा


काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् । तर, यसको लागि निश्चित् विधि, प्रक्रिया र तयारी गरिनुपर्ने मत राखेका छन् । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई आत्मसात गर्दै माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ।

यसअघि बसेका पदाधिकारी र स्थायी कमिटीको बैठकले अध्यक्ष दाहालको प्रस्ताव अनुमोदन गरेको छ । आजबाट केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केन्द्रीय कमिटीको बैठकमा दाहालले नेतृत्व हस्तान्तरणको लागि आफु तयार रहेको प्रष्टीकरण दिएका हुन् ।

सो क्रममा उनले अहिले अन्तरिम सरकार बनेपछि पनि मुलुकमा नयाँ नयाँखाले संकट उत्पन्न भएको बताएका छन् । उनले अहिले संविधान मास्ने र अन्तरिम संविधान जारी गर्ने खेल हुन लागेको आशंका व्यक्त गरेका छन् । यसको साथै, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्नेसम्मको षड्यन्त्र हुनसक्ने उनले खतरा औंल्याएका छन् । सबै षड्यन्त्र चिर्नको लागि पार्टी पँक्ति चनाखो हुनुपर्ने र घोषित मितिमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउनुपर्ने उनको मत छ ।

आफनो प्रतिवेदनमा दाहालले भनेका छन्,‘जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन् ।’