सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा


काठमाडौं, २० असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वसांसद सूर्य थापाले हामी नेपालीका संयोजक सुदन गुरुङलाई लठैतको संज्ञा दिएका छन् । सुदन गुरुङ मन्त्रालयको बैठकमा पुगेर मन्त्रीकै उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरुको हुर्मत लिएको भन्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालले सुदनसामू लाचारी प्रदर्शन गरेको र गृहमन्त्रीले विपद्को एक्सपर्ट भनेर शरम नमानेको थापाको आरोप छ । उनले अहिलेका सरकारका मन्त्रीहरुलाई विदेशीको खैलाना भन्दै दलालतन्त्रमा यस्तो नै हुने पनि टिप्पणी गरेका छन् ।

थापाले फेशबुकमा लेखेका छन्-

हाइज्याकर राज- हुल अफ ल!
संविधान, कानुन र राजकीय जिम्मेवारीले नचिन्ने संदीग्ध विदेशीका एजेन्टहरू कहिले पानी बोक्दै घुसपैठ गरेर रक्तपात र आगजनी गराउँछन्, कहिले राष्ट्रपतिलाई धम्काउन पुग्छन।पढ्नु न लेख्नु जान्नु न बुझ्नु मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको हुर्मत लिन्छन् ! अर्थमन्त्री जो स्वयं व्युरोक्रेसीबाट आएका हुन्, उनी हजुर सुदन सर भन्दै जीहजुरीका साथ लाचारी प्रदर्शन गर्छन्।गृहमन्त्री यसै भरौटेलाई विपद्को एक्सपर्ट(विज्ञ) भन्न शरम मान्दैनन्। जनताबाट निर्वाचित र उत्तरदायी भए पो लाज, घिन, डर र शरम लागोस त ? विदशीको खेलौना दलालतन्त्रमा यस्तै हुन्छ। मानौं यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिशकर्ता मिस्टर लुसिफर(डार्कम्यान)को खास नायबी चलाइरहेको छ !
यसलाई नियुक्ति दिनुछ भने देउ भरौटे सरकार, तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेशनिर्देश बन्द गर ! यो जोकरतन्त्र होइन, लोकतन्त्र हो।