कञ्चनपुर, २२ असोज । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् ।
विसं २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाधिएको हो । दृष्टिविहीन भएकाले दुवैको सहारा उनका छिमेकी रहेका छन् । अहिले पनि रामा सुदामा दम्पती छिमेकीकै सहयोगमा सानो घरमा बसोबास गर्दै आएका छन् । त्यो घर पनि गाउँका बासिन्दाले बनाइदिएका हुन् । “आमाबुबाले जग्गा राख्नुभएन, अहिले बस्नको लागि छ–सात धुर जग्गा मात्रै छ त्यसमै असल छिमेकीले घर बनाई दिँदा बस्न पाएका छौँ”, रामाले भने।
दुवै जनाले अपाङ्गका आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित रूपमा भत्ता पाउँछन्। यही भत्ताको रकम नै दृष्टिविहीन दम्पतीको मुख्य आम्दानीको स्रोत हो । “त्यही पैसाले नुन, तेल, चामल, दाल, साबुन र औषधोपचारका लागि खर्च गर्छौं”, सुदामा बताउँछन् ।
छिमेकीहरूले दुवै जनाका लागि खाना पकाउनेदेखि घर सफा गर्नेलगायत दैनिक कार्यमा सहयोग गर्छन् । सुदामा अनुमान र अन्दाजका भरमा कपडा धुन्छिन् र स–साना घरायसी काम आफैँ गर्न प्रयास गर्छिन् । “सहारा कोही छैन, जो आउँछन् ती नै हेर्छन्”, रानाले भने । दुवै जनाको सन्तान भने छैनन् ।
रामाले झारफुकको काम पनि गर्छन् । उहाँका अनुसार बाल्यकालदेखि नै यो सीप सिकेका हुन् । “झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ, कहिलेकाहीँ घरमै बोलाएर पनि आउनुहुन्छ”, उनले भने । यही सानो आम्दानीले पनि घरखर्चमा केही राहत पुग्ने गरेको उनी बताउँछन्।
“आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन”, सुदामा मुस्कुराउँदै भन्छन् । रामा र सुदामाको जीवन जिउने सकारात्मक सोचले जीवनलाई दृढ बनाएको स्थानीय नवराज पन्तले बताए । “दृष्टिविहीन राना दम्पती अत्यन्तै सरल र सकारात्मक सोच भएका व्यक्ति हुन”, उनले भने, “कठिनाइका बीच पनि दुवै जना कहिल्यै गुनासो गर्दैनन्, बरु उनीहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ ।”
गाउँका बासिन्दा राना दम्पतीलाई साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी रुपमा बर्णन गर्छन । जीवनमा दृष्टि नभए पनि उनीहरूले एकअर्कामा उज्यालो पाएका छन् । अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् रामा र सुदामा राना । रासस




प्रतिक्रिया