मदनको स्मरण गर्दै किशोर श्रेष्ठको ओलीलक्षित टिप्पणीः बेसन र बेसार दलेर किमार्थ राजनेता बन्न सकिँदैन


  • किशोर श्रेष्ठ

विचार एउटै । तर, फरक राय राख्ने नेतादेखि कार्यकर्ता, समर्थकसम्मलाई पानी खेदाइ गर्नेहरु काकतालीले ‘नेता’ त बन्न सक्ने नै भए । तर, ती ‘ल्यापटपे’ र ‘क्याल्कुलेटरे’ हरुले जतिसुकै ब्राण्डिङ्ग गरे पनि, जुन मात्रामा बेसन र बेसार दले पनि किमार्थ राजनेता बन्न सक्दैनन् ।

आफू जल्दोबल्दो महासचिव भएर पनि एकता प्रक्रियामा आएका मनमोहन अधिकारीलाई देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष स्वीकार्ने मन,मुटु अहिले कोसङ्ग होला ? यति कोमल मदन भण्डारीले नेतृत्व गरेको पार्टी मुलुक चलाउने ठाउँमा रहँदा राणाहरुले बनाइदिएको सिंहदरवार डढ्ने कालखण्डको प्रमुख पात्र बन्नु अनि आफ्नो ढाडको भैंसी धपाउन छाडी अर्काको आङ्गको जुम्रा टक्टक्याउनतिर लाग्नु बिडम्बना नै हैन र ? नेतृत्वले ठाउँअनुसार कोमल र कठोरताबीच सन्तुलन मिलाउनु पर्नेमा पवित्रा निरौला खरेलहरुलाई लखेटेर कोमल वलीहरुलाई च्याप्नतिर लाग्ने हो र ?

मदनसङ्गका मेरा सम्झना सहिष्णुताको सन्दर्भमा उपयुक्त लागेर यहाँ पेस्ट गरेको छु । आशा छ, एमालेका केन्द्रीय सदस्यहरुले मदनको नाम मात्र जप्ने हैन,उनका कामको आलोकमा बिबेक र ब्रम्ह प्रयोग गर्ने नै छन् । प्रज्ञा भवनमा ०४९ को पाचौं महाधिवेशनअगाडि मदनले बहुदलीय जनवादको ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । अडियो उतार भैसकेपछि आफैँले कालिमाटीस्थित सुनकोशी छापाखानामा आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवादू छ,त्यसअगाडि “जनताको” शब्द थप्न लगाउनुभयो । मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न” शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ ।

पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि “प्रकाश साप्ताहिक” महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र,मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है,यसो गर्दा सन्तुलन रहन्छ,पेशागत मर्यादा देखिन्छ,एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्ने निर्देशन दिनुभयो,जुन सहिष्णुताको पक्ष मैले कहिल्यै नबिर्सने अर्को प्रसङ्ग हो । विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै,दृष्टि पढ्दै गरेको,खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको,जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला बेला ।

संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियताक्रममा हुनुहुन्थ्यो हु चिन्ताओ,पछि राष्ट्रपति र महासचिव बन्नुभएका उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा,सानु मिश्र,हरि पाण्डे,माधवकुमार नेपाल,केपी ओली,मुकुन्द न्यौपाने,बाचस्पति देवकोटा,हेमराज राई,मुकुन्द न्यौपाने,योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट तपाईलाई पनि राखेको छु भन्नुभएको थियो ।

Skip This

Omoda E5 Pro