जेनजी आन्दोलन दमन गर्नेलाई कानुनी प्रक्रिया पूरा गरेर कारबाही गर्नुपर्छ : ऋषि धमला


काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ। जेनजी सडकको आयोजनामा मंगलबार साँझ गत भदौ २३ र २४ २०८२ मा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जेनजी आन्दोलन दमन गर्नेहरूमाथि कानुनी प्रक्रिया पूरा गरेर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै धमलाले आन्दोलन दमन गर्नेहरूमाथि हचुवाको भरमा नभई ऐन, कानुन र संविधानअनुसार कारबाही हुनुपर्ने बताए। ‘जेनजी आन्दोलन दमन गर्नेलाई कानुनी प्रक्रिया पूरा गरेर कारबाही गर्नुपर्छ । हचुवाको भरमा होइन,’ उनले भने, ‘ऐन, कानुन, संविधान हेरेर जनताको चाहनाअनुसार एक्सन लिनुपर्छ।’

धमलाले भ्रष्टाचारलाई नेपालको प्रमुख समस्याका रूपमा चित्रण गर्दै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीमाथि कारबाही गर्ने विषयमा अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे। ‘भ्रष्टाचार यो देशको महारोग हो। यो सरकारले भ्रष्टाचारलाई कारबाही गरेको छैन,’ उनले भने।

उनले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताए। भ्रष्टाचारविरुद्ध प्रभावकारी अनुसन्धान र कारबाहीका लागि अख्तियारलाई आवश्यक अधिकार, स्रोत र संस्थागत क्षमता दिनुपर्ने उनको भनाइ थियो।

धमलाले जेनजी पुस्तालाई विदेश पलायन हुनबाट रोक्न सरकारले स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्नेमा पनि जोड दिए।