भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताप्रति हाम्रो साझा प्रतिबद्धता हो : प्रधानमन्त्री कार्की


काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दलहरु र जेन जी प्रतिनिधिबीच भएको सम्वादले नयाँ विश्वास र सकारात्मक उर्जा जगाएको बताएकी छिन् । आज बालुवाटारमा भएको त्रिपक्षीय सम्वादपछि प्रधानमन्त्री कार्कीको यस्तो प्रतिक्रिया आएको हो ।

बालुवाटार बैठकबारे जानकारी दिँदै प्रधानमन्त्री कार्कीको भनाई सचिवालयले सार्वजनिक गरेको छ । जहाँ भनिएको छ-“आज सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरुबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ। देशका चुनौतीहरू हामी सबैका साझा हुन्, त्यसैले समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुन्छ।”

सम्वादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न आफूहरु सफल भएको पनि प्रधानमन्त्रीको भनाई छ । नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य निश्पक्ष, सुरक्षित र समयमै निर्वाचन गर्नु एउटै उद्देश्य रहेको पनि उनले स्मरण गराएकी छिन् । यस्तै, भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता प्रति आफूहरुको साझा प्रतिबद्धता रहेको पनि उनको भनाई छ । उनको भनाई थियो,”यही आधारमा हामी स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौं।”