नख्खु कारागारबाट रवि लामिछानेको सन्देश : रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनुछ


काठमाडौं, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधको आधारमा मुद्दा लगाएकोमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको धारणा खोजेका छन् ।

नख्खु कारागारमा रहेको लामिछानेले पत्रकार प्रमोद न्यौपानेसँगको भेटवार्तामा यस्तो सन्देश प्रवाह गरेका हुन् । वर्तमान सरकारको धाराणा खोजिरहेको भनेपनि आफूले फेवर नखोजेको उनको भनाई थियो । उनले हिजो रवि लामिछानेलाई अन्याय भयो भन्नेहरुले आज केही त बोल्नुपर्ला भन्दै प्रधानमन्त्री सुशीला कार्कीसँग अपेक्षा राखेका छन् ।

पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा रहेको लामिछानेको भनाई थियो । त्यसको लागि आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्नेपनि उनले भनेका छन् । यस्तो छ लामिछानेको सन्देश :

रास्वपा सभापति रवि लामिछानेसँग पचास दिनपछि आज नख्खु कारागारमा भेट भयो। उहाँले भेट्न खोजेको र मैले पनि चाहेको दिन एकै परेछ, आज। ’क्या संयोग’ भनेर हाँस्दै कुराकानी थालेको ’ल त्यसै गरौं’ भनेर छुट्दा डेढ घण्टा बितेछ।

’रवि दाइबारे अपडेट खै?’ भनेर निरन्तर सोध्नु हुने शुभचिन्तकलाई उहाँ पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी हुनुहुन्छ भन्ने जानकारी। अनि, राजनीतिक चासो लिने÷हुनेलाई अवगत गराइदिनु भन्दै उहाँले प्रष्टरुपमा चार बुँदा भन्नुभएको छ।

(१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ’फेवर’ होइन। हिजो ’अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला!

(२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।

(३) एकपटक चिठ्ठा परेकाहरू पटक–पटक परोस् भन्ने ठान्छन्। तर, संयोग दोहोरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश÷लोभ छ। लोभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!

(४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ। त्यो क्षणिक लाभ–हानी सोचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन।