दलहरु लोकतान्त्रिक संघ/संस्थाहरुको रक्षा गर्न, जनताको विश्वास जित्न र देशको सुरक्षा गर्न असफल भएः कूटनीतिज्ञ कर्ण


काठमाडौं, १९ कात्तिक । कूटनीतिज्ञ विजयकान्त कर्णले राजनीतिक दलहरु लोकतान्त्रिक संघ/संस्थाहरुको रक्षा गर्न, जनताको विश्वास जित्न र देशको सुरक्षा गर्न असफल भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘दलहरु लोकतान्त्रिक संघ/संस्थाहरुको रक्षा गर्न, देशका लोकतान्त्रिक संघ संस्थाहरुप्रति जनताको विश्वास जित्न र देशको सुरक्षा गर्न सबैमा असफल भएका छन्,’– उनले भने ।

अहिले दलहरुमा एक किसिमको अधिनायकवाद रहेको, केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेमा झन तानाशाही व्यवस्था नै रहेको उनले बताए । नेपाली कांग्रेसभित्र भने परिवर्तनको संकेत देखिएको उनको भनाइ छ । उनले जेन–जी आन्दोलनपछि राजनीतिक दलहरुप्रति जनताको विश्वास कम हुँदै गएको बताए । दलहरुले विचार, व्यवहार, संगठन र नेतृत्व परिवर्तन गरेनन् भने जनताले विश्वास नगर्ने उनले बताए । अहिले दलहरुबीच भइरहेको फुट र विभाजनलाई सकारात्मक रुपमै लिनुपर्ने कूटनीतिज्ञ कर्णले बताए ।

एमाले अध्यक्ष ओलीलाई अहिले ईश्वर पोखरेलले मात्रै नभएर उनको वरिपरी रहेका धेरैले चुनौति दिइरहेको बताए । अहिले ओलीको अवस्था सबैभन्दा नाजुक रहेको बताए । उनीमाथि भर्खरै युवाहरुको हत्या गरेको आरोप रहेको र यस्तो अवस्थामा जनताले भोट दिँदैनन् भन्ने एमालेलाई डर रहेको बताए । आजको दिनमा ओलीलाई सबैले चुनौति दिइरहेको र जेन–जी आन्दोलनले दलहरुमा लोकतान्त्रीकरणको प्रक्रिया सुरु भएको उनले बताए ।