काठमाडौं, २० कात्तिक । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेस विस्तारै एजेण्डाविहीन हुँदै गएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले भ्रष्टाचारको विरुद्धमा त झन केही पनि नबोलेको बताए । कुनै बेलामा २००७ सालको क्रान्ति गरेका थियौं भनेर र इतिहासको गीत गाएरमात्रै कांग्रेसले खाइरहेको उनले बताए ।
कांग्रेसकै नेताको घरमा जेन–जी आन्दोलनको क्रममा ठूलो रकम भेटिँदा पनि त्यसबारे पार्टीले धारणा सार्वजनिक नगरेको उनले बताए । कांग्रेसका अरु नेताहरु पनि भ्रष्टाचारमा मुछिएको र उनीहरुको बारेमा पनि पार्टीले केही नबोलेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । पार्टीभित्र तिनै अनुहार लिएर निर्वाचनमा जाँदा त्यसको परिणाम गलत हुने उनको भनाइ छ ।
राजनीतिक दलले अहिलेको सान्दर्भिकता र युगीन आवाजलाई बुझ्न सक्नुपर्ने उनको भनाइ छ । परम्परागत पार्टीहरु असक्षम प्रमाणित भइसकेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । निर्वाचनमा जानका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र हुनुपर्ने, पार्टी सक्षम हुनुपर्ने उनले बताए । कांग्रेसको महाधिवेशनतर्फ लक्षित गर्दै उनले समयमा महाधिवेशन गराउन नसक्ने पार्टीको औचित्य नरहने बताए ।
‘समयमा महाधिवेशन नै गराउन नसक्ने पार्टीको के औचित्य हुन्छ ? पार्टीको अधिवेशन भनेको नियमित प्रक्रिया हो । अधिवेशनले पार्टीलाई जीवन्ता दिन्छ । त्यसले चुनावको लागि ऊर्जा प्रदान गर्छ । पुरानै तरिकाले जाने हो भने पार्टीको औचित्य सकिन्छ,’– उनले भने ।




प्रतिक्रिया