मेरो बोलीले गगनको जत्तिकै अर्थ राख्छ, विशेष महाधिवेशन हुँदैन, कांग्रेस पनि फुट्दैनः नेता अर्याल (भिडिओसहित)


काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका नेता बद्री अर्यालले पार्टी नफुट्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो बोलीले पनि महामन्त्री गगन थापाको जत्तिकै अर्थ राख्ने र पार्टी नफुट्ने बताएका हुन् । नेता अर्यालले महामन्त्री भएर गगन थापाले विशेष अधिवेशनको आह्वान गर्न नमिल्ने बताए । उनले सदस्यता फाइनल गर्ने, अफिसको रेकर्ड राख्ने, रेखदेख गर्ने सबै काम महामन्त्रीको रहेको बताउँदै उनले गगनले महामन्त्रीको हैसियतले गर्नुपर्ने काम पनि नगरेर विशेष महाधिवेशन बोलाउन खोजेको उनले बताए । महामन्त्री थापाले यसको औचित्य पूरा गर्न नसक्ने नेता अर्यालले बताए ।

‘गगन थापाजत्तिकै अर्थ राख्छ मेरो बोलीले पनि । पार्टी फुट्दैन । सहमति हुनुपर्यो । पार्टी फुटाउने तवरमा विशेष अधिवेशन गर्नेगरी गगनजी लाग्नुभएको छ भन्ने पनि मलाई लाग्दैन । गगनजी आफैं महामन्त्री भएर विशेष अधिवेशनको लागि आह्वान गरेर हिँड्न हुँदैन । किनभने सदस्यता फाइनल गर्ने, अफिसको रेकर्ड, अभिलेख राख्ने, अफिस रेखदेख गर्ने सबै जिम्मा महामन्त्री हो । क्रियाशील सदस्यता फाइनल भयो र ?’ प्रश्न गर्दै उनले भने ।

साथै, आज विशेष अधिवेशनको प्रतिवाद गर्न एउटा कार्यक्रम पनि आयोजना गरिएको उनले बताए । अब एकचोटी अवसर पाएका कांग्रेसका नेताहरुले एकचोटी कुलिङ बस्नुपर्ने उनले बताए । नत्र भने पार्टीभित्र अवसर नपाएका मान्छेहरुमा नैराश्यता बढ्ने र जेन–जी आन्दोलनजस्तै अर्को आन्दोलन हुन सक्ने उनले बताए ।