काठमाडौं, २० कात्तिक । रामराज्य परिषद्ले नेपालको समस्या कचिंगलयुक्त, भ्रष्ट, अतिखर्चिलो र अस्थिर बहुदलीय संसदीय व्यवस्था रहेको निष्कर्ष निकालेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले अहिलेको बहुदलीय व्यवस्था र संविधानको कारण देशमा समस्या आएको निष्कर्ष सुनाएको हो ।
नेपालको सातौं संविधानको रुपमा आएको नेपालको संविधान २०७२ ले जातपात, भेदभाव,भ्रष्टाचार, भागबन्डा, आरक्षण, समावेशी समानुपातिक, जातीय तुष्टीकरण, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रजस्ता विकृति, विसंगति र विवादलाई अवलम्बन गरेको परिषद्को ठहर छ ।
यसै व्यवस्था र संविधानको असफलताको कारण गत भदौ २३ र २४ गते जिउ धन, इतिहास र गौरवगाथाको अपार क्षति हुन पुगेको बताइएको छ । परिषद्ले यी सबै विकृति विसंगति र विवादहरु हटाएर भ्रष्टाचारको मुहानको रूपमा रहेका मन्त्री तथा मन्त्रालयहरु नै नहुने, दलहरु पनि नहुने, सत्तापक्ष र प्रतीपक्ष मात्र हुने, दुई खम्बे वैदिक वैज्ञानिक ‘रामराज्य व्यवस्था’ को माग गरेको छ । असफल भइसकेको सातौ संविधानको सट्टामा रामराज्य व्यवस्था पक्षधर नेपालको आठौं संविधान २०८२ लागू गर्न आह्वान गरिएको छ ।




प्रतिक्रिया