सुशीला कार्की नेतृत्वको सरकार अध्याँरो कुनाबाट रहस्यमय तरिकाले बनेको विप्लवको दाबी, सर्वपक्षीय बनाउन माग


काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वडादेखि केन्द्रसम्म देश डुबेको टिप्पणी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले सरकार र संसद्मा बस्ने पार्टीहरुले हाकाहाक्की जनताले तिरेको करलाई अपचलन गरेको बताएका हुन् ।

विप्लवले आफूहरुले युद्ध लडेर पनि पार लगाउन नसकेको कुरा जेन–जीहरुले पार लगाइदिएको बताए । उनले जनयुद्ध बीचमै तुहिएको र भ्रष्टाचारीहरुले अटेर गरिराखेको अवस्थामा जेन–जी विष्फोट भएको बताए । नेकपाले जेन–जीहरुलाई पहिलो दिनदेखि नै साथ दिएको उनले बताए ।

‘हाम्रो पार्टीले लडेकै हो । तर, हामीले पार लगाउन सकेका थिएनौं । विभिन्न क्षेत्रबाट लडेका थिए जनताहरु । तर, जनताले पार लगाउन गाह्रो भएको थियो । जनयुद्ध बीचमै तुहिएको थियो । त्यसलाई पार लगाउन सकिएको थिएन । एकीकृत जनक्रान्तिको रगत सुकेको थिएन । भ्रष्टाचारीहरुले अटेर गर्दै गएपछि, मुर्खता गर्दै गएपछि र जनता केही पनि होइनन्, यिनलाई जे गरे पनि हुन्छ भन्न थालेपछि जेन–जी विष्फोट भयो,’– उनले भने, ‘जब लाखौं जेन–जीहरु सडकमा आए, दुई दिन पनि नेपालको अहँकारी सत्ता टिक्न सकेन । खरानी भयो । हामीले जेन–जी पुस्तालाई धन्यवाद दिनुपर्छ, उनीहरुको सम्मान गर्नुपर्छ । नेपाली जनतालाई ठूलो गुण लगाएका छन् । उनीहरुको गुण बिर्सिन हुँदैन ।’

ृउनले जेन–जी विद्रोह असफलतातिर गइरहेको बताए । सरकार, सदन, कानून, प्रशासन सबैतिरबाट विदेशी दलालहरुले आफ्नो नियन्त्रणमा राखेर केही पनि हुँदैन भन्ने भ्रम नेपाली जनतामा फैलाइएको उनले बताए । उनले आहिले आफ्नो–आफ्नो स्वार्थको रोटी सेक्ने र डम्फु बजाउने भन्दा पनि अधुरो क्रान्तिलाई पूरा गर्ने समय रहेको बताए । ‘अहिले कसैको आदेश सुनेर बस्नुपर्ने होइन । संसद् विघटन त भएको छ । तर, भ्रष्टाचारीहरु आज खुल्ला बजारमा भाषण गर्दै हिँड्न थालेका छन् । यो देशलाई लुट्ने लुटेराहरु, भ्रष्टाचारीहरु हामी नाङ्गै आँखाले देख्दैछौं,’– उनले भने ।

उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय सरकारको रुपमा बदल्न जरुरी रहेको बताए । उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा अध्यारो कुनाबाट रहस्यमय तरिकाले अन्तरिम सरकार घोषणा गरिएको बताए । वर्तमान सरकारले आन्दोलनकारीहरुको माग नसमेटेको, लडेर आएका शक्तिहरुको कदर नगरेको, भ्रष्टाचारको विरुद्धमा लड्ने शक्तिहरुको सम्मान नगरेको उनले बताए । विदेशमा बसेर सम्झौता गर्ने, नेपालमा राज्य चलाउने प्रवृत्तिले नेपाली जनतालाई लज्जित बनाएको उनले बताए । यसलाई सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नु आजको आवश्यकता रहेको उनले बताए ।

‘सुशीलाजीको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्न जरुरी छ । यो सरकारमा को आयो, किन आयो, कसले ल्यायो ? नेकपा १२ वर्षदेखि भ्रष्टाचारको विरुद्धमा लड्दैछ । नेकपालाई किन सोधिएन ? नेकपा जस्तै अरु दलहरु लडिरहेका छन् नेपालमा, अन्तरिम सरकार कस्तो हुनुपर्छ भनेर कसले भनेन ?’प्रश्न गर्दै उनले भने ।