काठमाडौं, २० कात्तिक । पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृति विमोचन भएको छ । ललितपुर बार एशोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यमा उक्त कृति विमोचन भएको हो ।
कृति विमोचन समारोहलाई सम्बोधन गर्दैै प्रधानन्यायाधीश राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु सबैको मुख्य दायित्व भएको बताए । उनले आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालनमा आउने बताए । उनले अदालतप्रतिको जनआस्था वृद्धि गराउन फैसलामा विधिशास्त्रमात्रै नभएर त्यसलाई छिटो र सहज रुपमा दिने व्यवस्था पनि कार्यान्वयनमा आउनुपर्ने धारणा राखे ।
प्रधानन्यायाधीश राउतले पुस्तक लेख्ने र अनुभवलाई समेट्ने अवसर सबैलाई रहेकाले त्यसलाई समात्न सक्नुपर्नेमा जोड दिए । ‘विद्धान लेखकको गहन अध्ययन, अनुसन्धानबाट महत्वपूर्ण पुस्तक प्राप्त भएको छ, निष्ठा र अनुभवले खारिएको व्यक्तिले लेखेको पुस्तक अत्यन्तै गहकिलो छ, पुस्तक पढ्न जति सजिलो हुन्छ, लेख्न त्यति सजिलो छैन,’ उनले भने ।




प्रतिक्रिया