काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य आशिष देवकोटाले पार्टीको विशेष महाधिवेशनको माग गर्नुको सट्टा सबैभन्दा पहिला आफ्नो वडाको क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सुझाव दिएका छन् । उनले महामन्त्री थापाले काठमाडौं क्षेत्र नं. ४ र आफ्नै वडामा समेत क्रियाशील सदस्यता विवाद समाधान गर्न नसकेको टिप्पणी गरे । काम नगरी विशेष महाधिवेशन भनेर नबहकिन उनले महामन्त्रीद्वयलाई सु्झाव दिए ।
‘कांग्रेसको विधानमा क्रियाशील सदस्यको सम्पूर्ण जिम्मेवारी महामन्त्रीलाई दिइएको छ । गगन दाईलाई म भन्न चाहन्छु– काठमाडौं क्षेत्र नं.४ मा अहिलेसम्म उहाँले पूरा गर्नुभएको छैन । उहाँले काठमाडौं–४ मा नवीकरण गराउनुभएको छैन । महामन्त्रीहरुले आफ्नो वडामा नवीकरण गराउनुभएको छैन । आज कांग्रेसका महामन्त्रीहरु बहकिनुभएको छ,’– उनले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई दोष लगाएरमात्रै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उम्किन नपाउने बताए । ग्राउण्ड लेवल (वडा समिति) देखि केन्द्रसम्म नियमित महाधिवेशन हुनुपर्ने उनले बताए । उनले नियमित महाधिवेशनबाट नै नयाँ पिँढीहरुले पार्टीमा स्थान पाउने बताए । नेतृत्व परिवर्तन र पुस्तान्तरण नहुँदा ग्राउण्ड लेवलका जनताले कांग्रेसलाई मन नपराएको उनले बताए ।
‘विशेष महाधिवेशनको सम्भावना छैन । कसैले पनि नचिताए हुन्छ । महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राख्दैगर्दा आज पार्टीमा नियमित महाधिवेशनको लागि दवाब बढेको छ । त्यसको लागि धन्यवाद,’– उनले भने ।
उनले आगामी फागुन २१ गते तोकिएको चुनावअघि कांग्रेसको १५औं महाधिवेशन हुनुपर्ने बताए । कांग्रेसले चुनावअघि महाधिवेशन गर्न नसकेको खण्डमा जनताले माफी नदिने उनको भनाइ छ । ‘कांग्रेसले चुनावपछि महाधिवेशनको कुरा गर्यो भने जनताले इतिहासमा कहिल्यै पनि माफी दिने छैनन् । जनता र कार्यकर्ताले नजिकबाट हेरिरहेका छन् । चुनावअघि महाधिवेशन गरियो भने नयाँ नेतृत्व आउँछ । काम गर्न सजिलो हुन्छ,’– उनले भने ।




प्रतिक्रिया