कांग्रेस केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेबाट विशेष महाधिवेशन गर्न प्रस्ताव


काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको प्रस्ताव गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गतेदेखि विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

जारी बैठकमा बोल्दै उनले केन्द्रीय समितिबाटै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बताए । छोटो समयमा महाधिवेशन गरेर चुनावको तयारीमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ । चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु सत्य हो । यो सबैका लागि विधानमा व्यवस्था भएको १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगलादेवी सिंहको जन्मजयन्तीदेखि सुरू हुने गरी विशेष महाधिवेशन आयोजना गरौं,’– उनले भने ।

कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गरेका छन् । कांग्रेस अहिले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई कित्तामा विभाजन भएको छ । नियमित महाधिवेशन पक्षधरहरु भने आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गराउने पक्षमा छन् । यता विशेष महाधिवेशन पक्षधरहरुले भने हालका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनावमा जान नसकिने बताउँदै आएको छ ।