प्रचण्डले मलाई प्रधानमन्त्रीबाट हटाउन ८ लाख मान्छे उतारेको मैले बिर्सिएको छैनः माधव नेपाल (भिडिओसहित)


काठमाडौं, २२ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले २०६७ सालमा आफू प्रधानमन्त्री भएको बेला हटाउनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा ८ लाख मान्छे उतारको नबिर्सिएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन अवस्थामा प्रचण्डले देशभरीबाट ८ लाख मान्छे ल्याएर काठमाडौंको होटल, होस्टल र विद्यालयहरुमा राखेको स्मरण गरे ।

‘२०६७ सालमा प्रचण्डले तपाईँविरुद्ध घेराबन्दी गर्नुभयो । सिंहदरबार घेराउ गर्नुभयो । तपाईँलाई जसरी हुन्छ, सडकबाट हटाउनुपर्छ भनेर । त्यो कुरा त बिर्सिनुभएको छैन नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘छैन कहाँ बिर्सिँन्छु र ?’…‘आठ लाख । तर, त्यसलाई मैले कसरी ह्याण्डल गरेँ थाहा छ ? तर, मैले बडो शान्तिपूर्ण ढंगले ह्याण्डल गरेँ । हप्तौं दिनदेखि यहाँका होस्टेल, कजेल, स्कूलहरु सबैमा बसेका होइनन् ?’

साथै, उनले आफूलाई पूर्वाग्रह राखेर पतञ्जली योग पीठ जग्गा प्रकरणमा मु्द्दा अगाडि बढाइएको बताए । उनले पतञ्जलीमात्रै नभएर कोही कसैसँग पनि एक पैसा नलिएको र लोभ नगरेको बताए । उनले भने, ‘पतञ्जलीमात्रै होइन, कुनै पनि कुरामा माधव नेपालले एक पैसा लिएको छैन । जानुस् न छानविन गर्नुस् । त्यो धार्मिक संस्थाले तपाईँलाई दिन्छ भन्ने लोभ छ ? भ्रम नपाल्नुस् । त्यस्तो मान्छे माधव नेपाल होइन । मलाई विलासी जीवन बाँच्नु पनि छैन । सादा जीवन उच्च विचार ।’

साथै, आफूले अहिले सरकारी गाडी सुविधा पनि नलिएको उनको भनाइ छ । मन्त्री, प्रधानमन्त्री र समितिको सभापति हुँदाबाहेक कुनै पनि सरकारी गाडी प्रयोग नगरेको उनले बताए । आफूलाई सरकारी गाडी दुरुपयोग गर्यो भनेर गलत प्रचारमा ल्याइएको पनि उनले बताए । ‘सरकारी गाडी मैले कहिले पनि पाएकै छैन । यो नचाहिँदो प्रचार किन ? मन्त्री, प्रधानमन्त्री हुँदाखेरी बेग्लै कुरा हो, नत्र सरकारी गाडी मैले चढेको छैन । पूर्व प्रधानमन्त्रीको रुपमा सरकारी गाडी मलाई दिइएको छैन । मैले मागेको पनि छैन,’– उनले भने ।