काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मंसिरभित्र नियमित महाधिवेशन नभएको खण्डमा पुस २९ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक बाध्यता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता शिवाकोटीले विशेष महाधिवेशन पक्षधरहरुको हस्ताक्षरलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
‘मंसिरमा १५औं महाधिवेशन गर्न सक्ने सम्भावना मैले कम देखेको छु । २४८८ जना महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको प्रस्ताव गरेर हस्ताक्षर बुझाउनुभएको छ । त्यसलाई हाम्रो विधानतः नजरअन्दाज गर्न मिल्दैन । त्यसलाई काहीँ न काँही सम्बोधन गर्नैपर्छ । त्यो हिसाबले पुस २९ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्नेै अर्को वैधानिक बाध्यता छ । विधानतः हामी बाध्य भएको विषय र कार्यसमितिबाट गर्नुपर्ने जो विषय छ, त्यो दुवैलाई हेरेर हामीले निर्णयमा पुग्नुपर्ने हुन्छ,’– उनले भने ।
नियमित रुपमा १५औं महाधिवेशन समयको चापको कारण भ्याउन नसकिएको खण्डमा विशेष महाधिवेशनले निकास दिने उनले बताए । विशेष महाधिवेशनको सम्भावना बढ्दै गएको उनको भनाइ छ । ‘१५औं महाधिवेशनको चापलाई हेरेर भ्याउन सकिएन भने विशेष महाधिवेशनबाट बरु सहज ढंगले निकास दिन सकिन्छ । रहेका महाधिवेशन प्रतिनिधिहरुबाट महाधिवेशनमा जानुपर्ने भएकाले त्यसको चाहिँ सम्भावना म बढी देख्दैछु । मंसिरमा १५औं महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनको विकल्प छैन,’– उनले भने ।




प्रतिक्रिया